• १३ साउन २०८१, आइतबार

जातिको कर्मकाण्ड ग्रन्थ सिलोके पालाखे विमोचन

blog

कर्मकाण्ड ग्रन्थ सार्वजनिक गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, असार २० गते ।
 नेपालको अति सीमान्तकृत दोलखाका थामी जातिको आफ्नो कर्मकाण्ड ग्रन्थ सिलोके पालाखे विमोचन गरिएको छ । जिल्लाको बिगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले तयार पारेको यो ग्रन्थ विमोचन गरिएको हो ।

तयार ग्रन्थ सङ्घीय सांसद गङ्गा कार्की ‘विश्व’, बागमती प्रदेश सभा सदस्यहरू कुन्दनराज काफ्ले, ठुला थामीले एक समारोहबीच संयुक्त रूपमा विमोचन गर्नु भएको सङ्कलक/सम्पादक लक्ष्मण थामीले जानकारी दिनु भयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सांसदहरूले थामी जातिको संस्कार संस्कृति संरक्षणका लागि कर्मकाण्डले सहयोग पुग्ने हुँदा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

करिब सात सय पेजको कर्मकाण्डमा थामी जातिको जन्मदेखि मृत्युसम्मका विषयहरू सङ्ग्रहित छन् । थामी भाषामा लेखिएको विमोचित यो कर्मकाण्डमा कुलपुजा, भुमेपुजा, जन्म, विवाह, मृत्युलगायतका अध्याय राखिएका छन् । हरेक कार्यहरूमा झाँक्रीहरूले मानवजाति र थामी समुदायको उद्भव, विकास र विस्तारका सन्दर्भमा फलाक्ने मन्त्र, मौखिक इतिहासलाई पुस्तकमा लिपिबद्ध गरिएको छ ।

तीन दर्जन बढी झाँक्रीहरूसँगको व्यक्तिगत र सामूहिक छलफलका आधारमा कर्मकाण्ड तयार पारिएको र थामी जातिको संस्कृति संरक्षणका लागि यो पुस्तक कोसेढुङ्गा हुने कर्मकाण्डका सङ्कलक/सम्पादक लक्ष्मण थामीले जानकारी दिनुभयो ।

ग्रन्थ तयार पार्न थामी समुदायको बाहुल्य क्षेत्र बिगु गाउँपालिका वडा नम्बर ६, ७ र ८, कालिञ्चोक गाउँपालिका वडा नम्बर १, २, ५, ६ र ९, भीमेश्वर नगरपालिका वडा नम्बर १, २ र ९, मेलुङ गाउँपालिका वडा नम्बर ७ का झाँक्रीहरूसँग विभिन्न चरणमा छलफल/अन्तरक्रिया भएको थियो ।

थामी समाज दोलखाका अध्यक्ष होम थामीले समुदायको समग्र विषय समेटेर तयार पारिएको पहिलो पटक विस्तृत कर्मकाण्ड प्रकाशनमा आएको र जिल्लामा मात्र नभएर देसदेसमा समेत यही कर्मकाण्ड प्रयोगमा ल्याइने बताइन्छ ।

बिगु गाउँपालिका अध्यक्ष सञ्जीव ओली र उपाध्यक्ष देविका थामीले थामी जातिको कर्मकाण्ड सम्बन्धी मौखिक संस्कार हराउँदै गएकाले संरक्षणका लागि गाउँपालिकाको नीति, योजना, कार्यक्रम र बजेटमा सम्बोधन गरिएको बताउनुभयो । कार्यक्रममा सिलोके पालाखे निर्माणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।