• १३ साउन २०८१, आइतबार

अफ्रिका फिल्म महोत्सव : बाह्र देशका बाइस चलचित्र देखाइँदै

blog

काठमाडौँ, असार २० गते । काठमाडौँको जमलस्थित नाचघरमा आगामी शनिबारदेखि ‘११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२३’ हुने भएको छ ।  तीन दिनसम्म चल्ने महोत्सवमा  नेपालका एक दर्जन र अन्य ११  देशका १० वटा अफ्रिकन चलचित्र तथा वृत्तचित्र प्रदर्शनका लागि चयन भएका छन् । 

महोत्सव कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसनको सहआयोजनामा हुन लागेको हो । महोत्सवमा चलचित्र प्रदर्शनका साथै अन्य विभिन्न कार्यक्रम पनि  हुने महोत्सव आयोजक समितिका अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी दिनुभयो । उहाँले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्न १२ वर्षअघिदेखि यस्तो महोत्सव निरन्तर आयोजना गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवले अफ्रिकालाई अफ्रिकन ‘लेन्स’ बाटै हेर्दा सहयोग पुग्छ ।’’ 

महोत्सव अवधिभर जम्मा २२ वटा चलचित्र प्रदर्शन हुने छन् । अफ्रिकाबाट चयन भएका १० चलचित्रमध्ये वृत्तचित्रतर्फ  जिम्बाब्वेको कलिङ द डेड, युगान्डाको सम बडी क्लाप फर मी र केन्याको थ्याँक्यु फर द रेन रहेका छन्  ।  त्यस्तै फिचर फिल्मतर्फ मोजाम्बियाको ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ । लघु चलचित्रतर्फ रुवान्डा र स्विट्जरल्यान्डको आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको द बिल्डर, साउथ अफ्रिकाको ह्याङ म्यान, फ्रान्सको सान्टा क्लस डार्क साइड, घानाको या, केन्या र जर्मनीको वाटु वाटो रहेका छन् । 

निर्देशक डब्बु क्षेत्रीका अनुसार महोत्सवका लागि फिचर फिल्मतर्फ दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगन्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार निर्देशित भाग्य रहेका छन् । वृत्तचित्रतर्फ रोशनी केसी निर्देशित समर्पण र भीमलाल श्रेष्ठ निर्देशित फेरि रहेका छन् । यस्तै लघु चलचित्रमा विलक्षण क्रियसन निर्मित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रद्युम्न मिश्र निर्देशित दुविधा रहेका छन् । विद्यार्थी समूहको लघु चलचित्र प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐँजेरु, सामलकुमार वज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेका छन् ।