• १३ पुस २०८१, शनिबार

अर्थतन्त्रका समस्या भाषण गरेर समाधान हुन सक्दैनन् : पूर्व मन्त्री कार्की

blog

अर्थ समितिको बैठकमा धारणा राख्नुहुँदै सांसद ज्ञानेन्द्रबहादुर कार्की ।

काठमाडौं, असार १९ गते। नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौती भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताउनुभएको छ। 

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताउनुभएको हो। उहाँले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनुभयो। सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताउनुभयो। 

उहाँले आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समीक्षा गरेर यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो। सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठुलो टेवा पुर्‍याइएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयो। 

उहाँले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालीन सोच बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले सरकार र अर्थमन्त्री गम्भीर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताउनुभयो। उहाँले सरकारले कृषि उत्पादन बढाउने भन्छ तर किसान जनता मल र बिउँ खै भन्ने अवस्था रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू अर्थमन्त्री र नेताहरूले भाषण गरेर मात्रै समाधान हुँदैन। हामी गम्भीर हुनु जरुरी छ। आयात किन घटिरहेको छ। आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ। यसको सही रूपले जवाफ लिन र समाधान गर्न सकेनौँ भने सरकारको विश्लेषण यथार्थ हुन सक्दैन।"

रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठुलो टेवा पुर्‍याएको छ। तर रेमिट्यान्स स्थायी हो वा होइन। रेमिट्यान्समा कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कतातर्फ जान्छ ? यसको स्थायी समाधानका निम्ति सरकारले कस्तो सोच बनाउन जरुरी छ।’’