• १३ साउन २०८१, आइतबार

‘रोड्स टु दी भ्याली’ लोकार्पण, सिंहको योगदान महत्त्वपूर्ण

blog

प्रितम सिंहद्वारा लिखित पुस्तक ‘रोड्स टु दी भ्याली’ सोमबार राजधानीमा आयोजित लोकार्पण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर : कविन अधिकारी

काठमाडौँ, असार १९ गते । सन् १९५७ मा भारतको जम्मुबाट काठमाडौँ आइपुग्नुभएको थियो सरदार प्रितम सिंह । ट्रक चालकका रूपमा २२ वर्षको उमेरमा काठमाडौँ आएका सरदार सिंहले नेपालको यातायातका क्षेत्रमा क्रान्तिकारी रूपान्तरण आरम्भ गर्नुभयो । ६६ वर्षपछि उहाँको जीवन यात्राका सङ्घर्ष र सफलताका प्रेरणादायी कथा समेटिएको पुस्तक ‘रोड्स टु दी भ्याली’ सोमबार सार्वजनिक भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार सिंहकी छोरी किरणदीप सान्धुद्वारा लिखित ‘रोडस् टु दी भ्याली’ विमोचन गर्नुभएको हो । 

नौ खण्डमा लेखिएको पुस्तकमा काठमाडौँमा पहिलो पटक ट्रक भित्र्याउँदादेखि सरदार सिंहले सामाजिक र शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको छ । पुस्तकमा ‘नेपाल पब्लिक मोटर सर्भिस’ स्थापनासँगै यातायातलाई देशभरि विस्तार गर्दाको सङ्घर्ष पनि पुस्तकमा उल्लेख छ । 

द्विपक्षीय सम्बन्ध विस्तारमा योगदान

प्रधानमन्त्री प्रचण्डले जनता–जनताबिच सम्बन्ध स्थापना गर्न सरदार सिंहको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सामाजिक र शिक्षा क्षेत्रमा सरदार सिंहको योगदान रहेको बताउनुभयो । 

उहाँले पहिलो पटक सरदार सिंहले नै सञ्चालन गरेको नेपाल पब्लिक मोटर सर्भिसको बसमा चढेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “म हाइस्कुल पूरा गरेर कलेज पढ्न जाँदा सबैभन्दा पहिलो चढेको बस नेपाल पब्लिक मोटर सर्भिसको बस उहाँकै रहेछ । यसबाट पनि थाहा हुन्छ कि यातायातका क्षेत्रमा उहाँको योगदान विशिष्ठ छ, मौलिक छ र ऐतिहासिक छ ।”

प्रधानमन्त्री प्रचण्डले सरदार सिंहले यातायातको विस्तार गर्दै नेपालभरि फैलाएको बताउनुभयो । उहाँले शिख समुदायको संरक्षण र प्रवर्धनको योगदानको पनि स्मरण गर्नुभयो । उहाँले ‘रोड्स टु दी भ्याली’ पुस्तकमा लिखित सरदार सिंहको जीवनीबाट सबैलाई प्रेरणा मिल्ने बताउनुभयो । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समुदायलाई कोभिड–१९ महामारीमा सरदार सिंहले गरेको योगदानको स्मरण गर्नुभयो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सरदार सिंहको जीवनी प्रेरणादायी रहेको बताउनुभयो । नेपाल भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सिर्जना राणाले सरदार सिंहले आर्थिक सहकार्यको नयाँ सम्भावना र यातायातको क्षेत्रमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पुस्तकका लेखक सान्धुले आफ्ना पिताको सङ्घर्षलाई पुस्तकमा उतारेको बताउँदै यसबाट समाजमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।