• १३ साउन २०८१, आइतबार

तीन उत्तम कृति पुरस्कृत

blog

काठमाडौँ, असार १९ गते । तीन नवोदित लेखकका तीन कृति पुरस्कृत भएका छन् । २०७९ सालभर प्रकाशित नवोदित लेखकका काव्य, आख्यान र गैरआख्यान कृतिलाई साहित्यपोस्ट उत्तम काव्य, साहित्यपोस्ट उत्तम आख्यान तथा साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कारका संस्थापकद्वय उत्तमप्रसाद पन्त र उत्तम भौकाजीको उपस्थितिमा पुरस्कृत कृतिको घोषणा र पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । काव्यतर्फ प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफलर’ आख्यानतर्फ हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र गैरआख्यानतर्फ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ ले प्राप्त गरेका हुन् ।

सोमबार आयोजित कार्यक्रममा पुरस्कृत कृतिहरूको घोषणा विधागत निर्णायकहरू केदार वाशिष्ठ (गैरआख्यान), शीतल दाहाल (आख्यान) र वासुदेव अधिकारी (काव्य) ले गर्नुभएको हो । सो अवसरमा पुरस्कार विजेता कृतिका सर्जकहरूलाई पुरस्कारका संस्थापक उत्तमद्वय तथा कार्यक्रमका सभापति अश्विनी कोइरालाले ५०/५० हजार राशिसाथ प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । आख्यान र गैरआख्यान विधाको दुई पुरस्कारको प्रयोजन उत्तमप्रसाद पन्तले गर्नुभएको हो भने काव्य विधाको पुरस्कारको प्रायोजन उत्तम भौकाजीले गर्नुभएको हो ।