• १३ साउन २०८१, आइतबार

थारू लोककला तथा मूर्तिकला प्रशिक्षण

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असार १९ गते । बर्दियाको बाँसगढीमा तीनदिने थारू लोक चित्रकला तथा मूर्तिकला प्रशिक्षण सुरु भएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जासु कला केन्द्रको संयुक्त आयोजनामा भएको प्रशिक्षणको  उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उपत्यका बाहिर पश्चिम नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरेको बताउँदै प्रतिष्ठान रैथाने कला संस्कृतिको संरक्षण तथा संवर्धनका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले प्रतिष्ठानले बाँसगढी नगरपालिकालाई पहिलो प्राथमिकता दिई थारू लोककला, संस्कृतिको संरक्षणमा उल्लेखनीय कार्य गरेको बताउनुभयो । 

कार्यक्रममा थारू लोककला तथा चित्रकलाका बारेमा साहित्यकार तथा अध्येता शेखर दहितले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि एकराज चौधरीले टिप्पणी गर्नुभएको थियो । कलाकार प्राज्ञ दिनेश्वर महतो र कलाकार मिट्ठु थारू प्रशिक्षक रहनुभएको छ । प्रशिक्षणमा २५ जना थारू समुदायका महिला पुरुष रहेका छन् ।  

कार्यक्रममा बाँसगढी नगरपालिका नगर प्रमुख खडकबहादुर खड्का, नगर उपप्रमुख इन्दिरा चौधरी, नेपाल ललितकला प्रज्ञा परिषद्का सदस्य प्रदीप अधिकारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ शशिराम कार्कीलगायतले स्थानीय कला, संस्कृति र साहित्य तथा भाषाको संरक्षण संवर्धनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।