• १३ साउन २०८१, आइतबार

स्थानीय आलुकाे ब्राण्डिङ गर्दै मालिका गाउँपालिका

blog

मालिकामा उत्पादित आलु । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार १८ गते । मालिका गाउँपालिकाले प्याकेजिङ र ब्राण्डिङ गर्ने भएको छ । यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी विभिन्न किसिमका कार्यक्रमसमेत अगाडी बढाएको हो । 

पालिकाको वडा नम्बर ३ ह्वाङदी र वडा नम्बर ४ अर्खबाङसँगै गाउँपालिकाका अन्य वडाका केही स्थानलाई लक्षित गर्दै यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरिएको हो । यस वर्ष मालिका गाउँपालिकाको करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा तीन सय टनभन्दा धेरै आलु फल्ने अपेक्षा गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ  । 

यस्तै, प्रति केजी ४० रुपियाँका दरले आलु विक्री गर्दापनि एक करोड २० लाखभन्दा धेरै मूल्य पर्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मी, मालिका गाउँपालकाले यहाँका किसानलाई आलु खेतीतर्फ आर्कषित गराई व्यवासयिक बनाउन अनुदानमा बिउँ वितरण गर्ने, विषादी तथा औजार उपलब्ध गराउने कार्य गर्दै आएको छ ।

आलुलाई प्याकेजिङ र ब्राण्डीङ गरी बजारमा ल्याउन गाउँपालिका र कृषि ज्ञानकेन्द्रले तयारी गरेको गाउँपालिकाका अध्यक्ष देबीराम अर्यालले जानकारी दिनुभयो । यहाँको आलु निकै स्वादिष्ट भएकाले लेबलिङ गरिसकेपछि बजारको कुनै समस्या नहुने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।  

स्थानीयलाई रोजगारीसँगै आम्दानी, पालिकाको समृद्धी र आलुको चिनारी नेपाल भर फैलाउने उद्देश्यकासाथ लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताउनुभयो । यहाँ सामान्य ढङ्गले फागुनमा मकै छर्दा आलु लगाउने र असारमा कोदो रोप्दा आलु खनेर भित्र्याउने प्रचलन रहँदै आएको छ ।  

स्थानीय जातको आलु संरक्षण गर्दै बजारीकरण गरेर किसानको आर्थिक अवस्थामा सुधार ल्याउने योजना पालिकाकाको रहेको गाउँपालिकाकाले जनाएको छ । मालिकाको आलु प्रर्वद्धन र बजारीकरणको लागि पालिकाले आवश्यक बजेटको प्रवन्ध गरेको अध्यक्ष अर्यालले दावी गर्नुभयो ।