• २१ वैशाख २०८१, शुक्रबार

चिडियाखानामा प्रभुत्वको लडाइँ

blog

शीत युद्ध कालमा जर्मनीलाई दुई क्षेत्रमा विभाजित गरिएको थियो : फेडरल रिपब्लिक अफ जर्मनी (पश्चिम जर्मनी) र जर्मन डेमोक्रेटिक रिपब्लिक (पूर्वी जर्मनी) । पश्चिम जर्मनी पश्चिमा देशहरूसँग सम्बद्ध र पूर्वी जर्मनी सोभियत सङ्घसँग सम्बद्ध थियो । कुनै बेला दुवै क्षेत्रको साझा राजधानी बर्लिनलाई पनि भाग लगाइयो । सन् १९६१ मा निर्माण गरिएको ‘बर्लिन वाल’ ले एकै सहर आधिकारिक रूपमा दुई देशको राजधानी बन्न पुगेको थियो ।  

द्वितीय विश्व युद्धताका भएका बम वर्षाले क्षतिग्रस्त बर्लिनका दुवै क्षेत्रको पुनर्निर्माण गरियो तर नागरिकको मनमस्तिष्कमा एक लडाइँको मैदान बन्यो : चिडियाखाना ।

द्वितीय विश्व युद्धपछिको युरोपमा विभाजित बर्लिन शीत युद्धको चरम तनावको केन्द्र थियो । बर्लिन विभाजनपछि जुन खालको तनाव त्यहाँ उत्पन्न भएको थियो, त्यसले कुनै पनि बेला तेस्रो विश्व युद्ध सुरु हुन सक्ने देखिन्थ्यो । सहरका दुवै क्षेत्रमा पुनर्निर्माण तीव्र थियो तर आपसी प्रतिस्पर्धा पनि उत्तिकै । सहरको दुवै क्षेत्रमा स्रोत र सांस्कृतिक प्रभुत्वका लागि दुवै पक्षबीच प्रतिस्पर्धा र जोरजुलुम चलिरहेको थियो, जसमा त्यहाँको चिडियाखाना पनि पर्दथ्यो । 


द्वितीय विश्व युद्धभन्दा धेरै पहिले जर्मनीको संस्कृतिमा पशु र प्रकृतिले विशेष स्थान पाएका थिए । साम्राज्यकालमा हम्बोल्ट दाजुभाइजस्ता अन्वेषकले प्राकृतिक संसारका बारेमा आफ्नो खोजलाई विशेष महìवका साथ उत्सवमा रूपान्तरित गर्दथे । जब जर्मनी विभाजित भयो दुवै पक्षले जर्मनीको इतिहास र विरासतको लाभ लिन प्रयत्न गर्न थाले । यसै कारण दुवै पक्ष बर्लिनको चिडियाखानामा दाबी गर्न थाले किनभने बर्लिनमा एउटा मात्र चिडियाखाना थियो । 

पश्चिम जर्मनी र पूर्वी जर्मनीको सम्बन्धित राजनीतिक प्रणालीका लागि बर्लिनको चिडियाखाना आत्मसम्मानको विषय नै भयो । वेस्ट बर्लिन जुलोजिकल गार्डेन अर्थात् बर्लिनको चिडियाखानालाई विश्वको सर्वाधिक जैविक विविधता भएको चिडियाखाना मानिन्छ । सन् १८४४ बर्लिन चिडियाखाना स्थापना गरिएको थियो र यस हिसाबले यो जर्मनीको सर्वाधिक पुरानो चिडियाखाना पनि थियो । द्वितीय विश्व युद्धका बेला मित्रराष्ट्रको बम वर्षाबाट यस चिडियाखानामा ठूलो क्षति पुग्यो र त्यहाँ भएका दुई हजारभन्दा बढी पशुमध्ये मात्र ९१ जीवित रहे । त्यहाँका भवनबाट मानिसको ८२ शव फेला पारिएको थियो । 

पश्चिम जर्मनीले पुनर्निर्माण गरी युद्ध पहिलेको अवस्थामा चिडियाखानालाई ल्यायो । पश्चिम बर्लिनको चिडियाखाना जर्मनीको सर्वाधिक पुरानो हो तर पूर्वी बर्लिनको टियरपार्क युरोपको सबैभन्दा ठूलो चिडियाखाना कहलिन्छ । बर्लिनलाई पश्चिम र पूर्वी क्षेत्रमा विभाजन गरेपछि सन् १९५५ मा बर्लिन टियरपार्क निर्माण सुरु सञ्चालनमा ल्याइएको थियो । 

राष्ट्रियकरण गरिएपछि एक कुलीन परिवारद्वारा परित्याग गरिएको फ्रिड्रिक्चस्फेल्ड दरबार क्षेत्रमा बर्लिन टियरपार्क बनाइएको छ । 

सीमामा रहेको चिडियाखानाका साना र पुराना शैलीका खोरको विपरीत बर्लिन टियरपार्कमा आधुनिक र नौला खोर बनाइए । 

परिस्थिति तनावपूर्ण भए पनि परमाणु हातहतियार जम्मा गर्नुको साटो पश्चिम बर्लिनको चिडियाखानाका निर्देशक हेन्ज जर्ज क्लोस र पूर्वी क्षेत्रको चिडियाखानाका निर्देशक हाइनरिख डेटले अपसरी प्रतिस्पर्धामा पशु सङ्कलनमा बढी ध्यान दिए ।    

दुवै चिडियाखानामा भालु राखिएका थिए, जो बर्लिनको प्रतीक हो । यसका अतिरिक्त उनीहरूको सङ्कलन र जसले त्यसको खर्च उठाए, का आधारमा शीत युद्धकालको भूराजनीति झझल्किन्थ्यो । टियरपार्कमा कालो भालु प्रदर्शनीलाई पूर्वी जर्मनीको गुप्तचर प्रहरी निकाय स्टासीले प्रायोजन गरेको थियो । भियतनामको हो ची मिन्हले उपहारमा दिएको दुई वर्षको हात्तीको छावा चिडियाखानामा यताउता घुमेर आगन्तुकलाई मनोरञ्जन दिन्थ्यो ।  

यसैगरी पश्चिम बर्लिनको चिडियाखानामा पश्चिमा देशहरूको भूमिका देखिन्थ्यो । सन् १९६२ मा अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीका भाइ रोबर्ट एफ केनेडीले बर्लिन चिडियाखानालाई तालु खुइले चिल उपहार दिएका थिए । चीनले उपहारमा दिएको पान्डा जेन जेनको बर्लिन चिडियाखानामा सन् १९८३ मा मृत्यु भएपछि त्यसका पछाडि सोभियत सङ्घको जासुसी निकाय केजीबीको हात रहेको हल्ला फैलियो । वामपन्थी पूर्वी जर्मनीको चिडियाखानामा राखिनुको सट्टा पश्चिमाको प्रभाव रहेको पश्चिम जर्मनीमा सो पान्डा राखिएका कारण केजीबीले कारबाही गरेको हल्ला चल्यो तर वास्तवमा भाइरल सङ्क्रमणका कारणले पान्डा मरेको थियो । जब सन् १९८९ मा बर्लिनको पर्खाल भत्काइयो कुन चिडियाखाना अब बन्द गरिने छ भन्ने बहस सुरु भयो तर कुनै पनि बन्द गरिएन ।