• १३ साउन २०८१, आइतबार

सरकारी अनुदान मल बिक्री गर्नेलाई दुई लाख जरिवाना

blog

किसानका लागि सहुलियत दरमा पठाएको रासायनिक मल निजी पसलबाट बरामद । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार १७ गते । सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल सहकारीले निजी पसललाई बिक्रीका लागि दिएको खुलेको छ । इलामस्थित कृषि सामग्री कम्पनी लिमिटेडले इलाम नगरपालिका –१, साखेजुङका किसानलाई सहुलियत दरमा उपलब्ध गराउन स्थानीय सूर्यज्योति कृषि सहकारीलाई दिएको ३४ बोरा युरिया र १८ बोरा डिएपी मल बिक्री गरेको पाइएपछि जरिवाना गरिएको छ ।  

केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इलामले इलाम नगरपालिका –७, सुनभागा चोकमा रहेको कृषि बिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो । बरामदपछि छानविन गरी जिल्ला प्रशासनले सहकारीमार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने निजी पसललाई दुई लाख रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो । 

प्रजिअ पोख्रेलकाअनुसार पसल सञ्चालकले झापाबाट मल ल्याएर बेच्न लागेको बताए पनि उनीसँग उक्त मलसम्बन्धी कुनै पनि बिल–बिजक नभएपछि जरिवाना गरिएको हो । प्रशासनले अनुगमन गर्दा सहकारीले लिएको तीन सय ७० बोरा (प्रतिबोरा ५० किलो) युरिया र एक सय ५८ बोरा डिएपीमध्ये ३४ बोरा युरिया र १८ बोरा डिएपी मल पराजुलीको पसलमा भेटिएको छ  । 

सरकारी मल जफतपछि सोही पसलमा अवैध रूपमा ल्याएको थप दुई बोरा भारतीय मलसमेत भेटिएको छ । यता, सहकारीले लगेको मल कसरी निजी पसलमा पुग्यो भन्ने छानविन हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।