• १३ साउन २०८१, आइतबार

बाल साहित्य बालबालिकाका लागि बीज तत्त्व हो: उपकुलपति श्रेष्ठ

blog

काठमाडौँ, असार १६ गते । उपकुलपति एवम् बाल साहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बाल-साहित्य बालबालिकाका लागि बीज तत्त्व भएको बताउनुभयो । शुक्रवार काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बाल साहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बाल साहित्यको अवस्था विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बाल साहित्यको समावेश लगायतका विषयमा भएको अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।  

बालबालिकालाई अघि नबढाएसम्म कुनै पनि क्षेत्रमा बढ्न नसकिने धारणा समेत उहाँले राख्नुभयो । उहाँले विद्यार्थीका लागि अत्यन्त महत्त्वपूर्ण  पाठ्यपुस्तकको लेखन र सम्पादन उत्तिकै गम्भीर र विचार पुर्‍याएर गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रमलाई प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले  ब्यानर वाचन गरेर  सो गोष्ठीको  उद्घाटन गर्नु भएको थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बाल साहित्य समाज मिलेर वर्षभरि चार वटा उद्देश्यमूलक गोष्ठी, एक पटक बाल पुस्तक प्रदर्शनी र एक पटक बालबालिकाबिच कविता प्रतियोगिता आयोजना गर्ने जानकारी समेत दिएको छ । 

विषय विज्ञ एवम् वरिष्ठ समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले  विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बाल साहित्यको अवस्था विषयक अवधारणा पत्र प्रस्तुत गर्दै पाठ्यपुस्तकले बालबालिकालाई प्रश्न गर्न सक्ने बनाउनु पर्नेमा जोड दिनुभयो । आलोचनात्मक शिक्षणकलाका लागि बाल साहित्य आवश्यक पर्ने बताउँदै उहाँले पाठ्यपुस्तक लेखन र स्वतन्त्र साहित्यलेखनबिच ठुलो फरक रहेको स्पष्ट पार्नुभयो ।

अवधारणा पत्रमाथि टिप्पणी गर्दै समालोचक डा. शैलेन्द्र प्रकाश नेपालले पूर्वीय मान्यता, विचार र परिवेश फरक रहेको परिप्रेक्ष्यमा पाश्चात्य मान्यता, विचार र परिवेशका आधारमा मात्र हामीले हाम्रा धारणा बनाउन नहुने  बताउनु भयो । पाठ्यपुस्तकले बालबालिकाको व्यक्तित्व विकास र आत्मबल बढाउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकाका उपयुक्त रचना पाठ्यपुस्तकमा राख्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न पनि राख्नुभयो ।

यस क्रममा टिप्पणीकार नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य डा. कौशिला रिसालले बालबालिकाका पाठ्यपुस्तक कसले लेख्ने भन्ने निश्चित मापदण्डको आवश्यकता औँल्याउँदै पछिल्लो समयमा रचनाको गुणस्तरभन्दा आफ्ना नजिकका लेखकका रचना पाठ्यपुस्तकमा राख्ने गरिएको र कक्षाअनुसारको पाठ्यसामग्री नहुने गरेको भनाइ राख्नुभयो ।

अध्यक्षको आसनबाट नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले  पाठ्यपुस्तक लेखक र सम्पादक एकातिर ,बाल साहित्य लेखक अर्कोतिर  रहेकाले एउटै  मिलनबिन्दु खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो। नेपाल बाल साहित्य समाजका महासचिव विजयराज आचार्यले बाल-साहित्य, बालबालिकाको सिर्जनात्मक प्रतिभा र बाल साहित्यकारहरूको क्षमता अभिवृद्धिका लागि समाजको वर्तमान कार्यसमिति सक्रिय र समर्पित रहेको बताउनुभयो ।

यसै गरी गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी ,बाल साहित्यकारहरू भाग्यशाली अधिकारी, छायादत्त न्यौपाने, विजयराज न्यौपाने, यम बास्तोला र नारायण तिवारी तथा पुस्तकालय विज्ञ इन्दिरा दलीले विभिन्न प्रश्न र विचार राख्नुभयो । कार्यक्रममा प्राज्ञहरू, बाल साहित्यकारहरू, बाल पाठ्यपुस्तकका लेखक एवम् सम्पादकहरूको पनि उपस्थिति थियो ।