• १३ साउन २०८१, आइतबार

दाङमा ८ प्रतिशत रोपाइँ सम्पन्न

blog

राष्ट्रिय धान दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१७ को डवरीमा धान रोपाई गर्दै नगर प्रमुख नरुलाल चौधरीलगायतका अतिथि तथा किसानहरु । तस्विर : लीलाधर वली

लीलाधर वली 

घोराही, असार १५ गते । दाङ जिल्लामा हालसम्म करिब ८ प्रतिशत धान रोपाइँ भएको छ । विगतका वर्षहरुमा करिब आधा धान रोपाइँ हुने गरेपनि यस वर्ष ढिला गरी वर्षा हुँदा रोपाईमा ढिलाई भएको हो । 

जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउपालिका, गढवा गाउपालिका, राजपुर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका लगायतका क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । 

जिल्लामा सबैभन्दा बढी राप्ती गाउपालिकामा धान रोपाइँ भएको उहाँले बताउनुभयो । सूचना अधिकारी लामिछानेले भन्नुभयो, “मध्येअसार भैसक्दा पनि यस वर्ष ढिलागरी वर्षात हुँदा करिब आठ प्रतिशत मात्रै रोपाइँ भएको छ । बाँकी खेत बाझै छन् ।”

सिचाईंका सुविधा हुने ठाउँहरुमा पहिले ब्याड राखेका किसानहरुले भने रोपाई सुरु गरेका छन् । विगतका वर्षहरुका अनुसार अहिलेसम्म ४० प्रतिशतसम्म किसानहरुले धान रोपिसकेको हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म जिल्लामा करिब ४० प्रतिशत धान रोपाइँ भएको हुनुपर्ने हो तर सिचाईं नहुँदा ८ प्रतिशत मात्रै रोपाइँ भएको छ ।” 

पानी पर्न थालेको र किसानले राखेको ब्याड पनि तयार हुने अवस्था भएकाले अब धान रोपाइँको अवस्था बढ्ने समेत उहाँ बताउनुहुन्छ । जिल्लामा ३९ हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । तर सिचाईंको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । 

चैते धान भित्राउने तयारीमा किसान

यसैबीच जिल्लाका अधिकांश ठाउँहरुमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धान खेती गरेका किसानहरु भने धानवाली भित्राउने तयारीमा छन् । वर्षामा चैते र बर्खे गरी दुईवाली धान खेती गर्ने किसानहरु अहिले चैते धान भित्राउने तयारीमा रहेका छन् । चैते धान खेतमा पाक्न थालेसँगै किसान अब धान भित्राउने तयारीमा जुटेको बङ्गलाचुली गाउँपालिका वडा नं. ३ मुलावासी निवासी किसान कृष्णबहादुर नेपाली बताउनुहुन्छ ।

पहिले रोपेको धान पाक्न थालेको र बर्खे खेतीका लागि खेत तयार गर्नुपर्ने भएकाले किसानहरु चैते धान भित्राउने तयारी जुटेका छन् । किसान नेपालीले भन्नुभयो, “चैतको अन्तिम सातातिर रोपेको धान पाक्न थालिसकेको छ । तर वैशाखमा रोपेको धान अझै पाकेको छैन । असारको अन्तिमसम्म पाक्ने भएकाले किसानहरु चैते धान भित्राउने तयारीमा छन् ।” पाँच रोपनी जग्गामा चैते धान खेती गर्नुभएका किसान नेपालीले यस वर्ष खडेरी लामो समयसम्म गरेपनि धानमा कुनै रोग नदेखिएको र बाला पनि राम्रै लागेकाले उत्पादन बढ्ने आशामा हुनुहुन्छ । 

उहाँले भन्नुभयो, “आकाशबाट पानी नआएपनि सिचाईंको समस्या भएन । जसले गर्दा धानको बाला राम्रो लागेको छ ।” विगतका वर्षहरुभन्दा यस वर्ष चैते धान राम्रो रहेको मुलाबारीकै किसान भुमा घर्ती बताउनुहुन्छ । समयमै धान खेतीसँगै मल र पानी पाइरहेकाले धानबाली राम्रो रहेको घर्ती बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमै खेतीसँगै मल र पानी धानले पाइरहेकाले धान राम्रो छ । जसले गर्दा उत्पादन बढ्ने आशा छ ।” 

हिउँदमा पनि सिचाईंको राम्रो सुविधा भएको खेतहरुमा चैते धान खेती हुने गरेको छ । केही वर्ष अघिसम्म सरकारले किसानलाई चैते धान रोप्न प्रोत्साहन स्वरुप बिउँ निःशुल्क दिनेदेखि सिचाईंका लागि कुलो मर्मतलगायतका कामहरु गर्ने गरेपनि पछिल्लो समय सहयोग गर्न छोडेको किसानहरु बताउँछन् । 

घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोला र बङ्गलाचुली गाउँपालिका वडा नं. ३,४ र ८ नम्वर वडा अन्तर्गत पर्ने गहतेरा, मुलावारीलगायत विभिन्न ठाउँमा चैते धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको छ । तर पछिल्लो समय सिचाई र मलको अभाव, वर्षातमा धान भित्राउन समस्या हुने भएकाले चैते धान खेती घट्दै गएको छ ।