• १८ वैशाख २०८१, मङ्गलबार

बाँके प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

blog

बाँकेलाई प्रदेशको पहिलो पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्दै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १४ गते। लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाका रूपमा बाँके जिल्लालाई घोषित गरिएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले बिहीबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई प्रदेशमै पहिलो जिल्ला पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरिएको हो।

आर्थिक वर्ष २०७९/०८० मा बाँकेका आठ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि बाँके पहिलो पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषणा भएको हो। 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बाँकेलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्दै मातृ तथा शिशु मृत्युदर कम गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले जसरी पूर्ण खोप अभियानलाई सफल पारियो त्यसैगरी मृत्युदरमा कमी ल्याउन पनि सबैको सक्रियता आवश्यक रहेको बताउनुभयो। मन्त्री खनालले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार गम्भीर रहेको जनाउँदै पूर्ण खोपको दिगोपना कायम राख्न अनुगमन निरन्तर गरिरहन आग्रह गर्नुभयो। 

घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य बादशाह कुर्मी र रत्न खत्री, स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्दन पन्थी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, खजुरा वडा नम्बर २ का वडा अध्यक्ष धनराम वली, जिल्ला समन्वय समितिकी उपसंयोजक सीता कार्की, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, बर्दियाका प्रमुख गोकर्ण गिरी लगायतले पनि चुनौतीपूर्ण अभियान निकै परिश्रमपछि सफल पारिएको बताउनुभयो। 

जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला खोप समन्वय समिति संयोजकसमेत रहनुभएका ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बाँकेका सम्पूर्ण पालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य स्वयंसेविका समेतको सहभागिता रहेको थियो। 

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जिल्लामा खोपै नलगाएका २९० बालबालिका र नियमित तथा पूर्णखोप नलगाएका एक हजार ५१७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनुभयो।

जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।