• १३ साउन २०८१, आइतबार

निकुञ्जमा पर्यटकीय गतिविधि बन्द

blog

वसन्त पराजुली

नारायणगढ, असार १४ गते । देशकै तेस्रो पर्यटकीय गन्तव्य चिवतन राष्ट्रिय निकुञ्जमा असार १५ गतेदेखि पर्यटकीय गतिविधि बन्द गरिने भएको छ । बर्सातका बेला निकुञ्जले आफ्नो नियमित कार्यक्रम अन्तर्गत निकुञ्जमा पर्यटकीय गतिविधि बन्द गर्न लागेको हो । 

अघिल्लो वर्ष असार १ बाटै निकुञ्ज बन्द गरिए पनि यो पटक १५ दिन ढिला गरी बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी मनसुन ढिला सुरु भएका कारण यो वर्ष पर्यटकका लागि निकुञ्ज प्रवेश रोक्ने निर्णय पनि ढिला नै भएको बताउनुभयो । 

“यस पटक मनसुन ढिला भएका कारण हामीले १५ दिन ढिला निकुञ्ज बन्द गर्न जाँदै छौँ,” उहाँले भन्नुभयो । अब निकुञ्ज दसैँपछि मात्रै खोलिने छ । 

पर्यटकका लागि निकुञ्ज बन्द गरिएसँगै विशेषतः निकुञ्जभित्र जङ्गल सफारी बन्द हुने छ । वर्षामा निकुञ्जका नदीनाला तथा पोखरीको पानीको सतह बढ्ने, आवातजावतमा कठिनाइ हुने, रुख लडेर सडक अवरुद्ध गर्ने र पर्यटकलाई त्यसले असर पार्ने भएकाले निकुञ्ज प्रशासनले हरेक वर्ष वर्षाको समयमा निकुञ्ज प्रवेशमा रोक लगाउँछ ।

“पर्यटकको सुरक्षालाई ध्यानमा दिएर नै हामीले वर्षाका बेला निकुञ्ज प्रवेशमा रोक लगाउँछौँ,” उहाँले भन्नुभयो । निकुञ्जमा अहिले बढी जिप सफारी हुने गर्दछ । पर्यटकका लागि निकुञ्ज प्रवेशमा रोक लागेसँगै जिप सफारी गर्ने पर्यटकका लागि असर पुग्ने देखिन्छ । हात्ती सफारी अहिले निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा हुने हुँदा सो सेवा सौराहामा नरोकिने क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो  ।

“निकुञ्जभित्रकै गतिविधि रोकिए पनि निकुञ्ज प्रवेशको मुख्यद्वार सौराहामा बाहिर रहेका वनक्षेत्रमा जङ्गल गतिविधि रोकिने छैन”, उहाँले भन्नुभयो । 

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे निकुञ्जले नै सूचना जारी गरेर बन्द गराउन नहुने बताउनुहुन्छ ।  “अहिले सूचना नै जारी गरेर बन्द गराउँदा पर्यटकीय गतिविधि नै ठप्प भन्ने म्यासेज जान्छ । यसका लागि सूचना जारी नगरे राम्रो,” उहाँले भन्नुभयो । वर्षाको समयमा जिप निकुञ्ज प्रवेश गर्न नसक्ने भएपछि त्यसै पनि जिप सफारी रोकिने उहाँको तर्क छ । 

यहाँ ६४ किसिमका स्तनधारी जनावर, छ सय प्रजाति चरा, ५९ किसिमका उभयचर तथा सरिसृप र १२० प्रजातिका माछा भेटिएको विभिन्न अध्ययनले जनाएको छ । यस्तै ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उन्यु, सयभन्दा बढी प्रकारका वनस्पति पाइन्छ । निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म (११ महिना) दुई लाख ८८ हजार ३५९ जनाले निकुञ्ज अवलोकन गरेका छन् । गत आवमा २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले निकुञ्ज अवलोकन गरेका थिए ।