• १३ साउन २०८१, आइतबार

किसानलाई मल पाउन सास्ती

blog

घोराही उपमहानगरपालिका-७ राजपुर गाउँमा धान खेतीका लागि प्राप्त भएको रासायनिक मल भाग लगाउँदै स्थानीयबासी । तस्विर : सामाजिक सञ्जाल

लीलाधर वली 

घोराही, असार १२ गते । लामो खडेरीपछि वर्षा भएसँगै किसानहरू धान खेतीको तयारीमा जुटेका छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा जुटेका किसानलाई अहिले रासायनिक मल अभाव भएको हो। 

रासायनिक मलका लागि दैनिक सहकारी संस्थासँगै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको कार्यालय घोराहीसम्म धाउने गरेपनि किसानले मल पाउन सकेका छैनन् । धान खेतीका लागि पटकपटक सहकारी संस्था धाएपछि ब्याड राख्नका लागि साढे पाँच किलो रासायनिक मल प्राप्त गरेको घोराही उपमहानगरपालिका–७ राजपुरका किसान आशाराम चौधरी बताउनुहुन्छ । 

किसान चौधरीले भन्नुभयो, “बर्खा लागि सक्यो, ब्याड राख्नका लागि मल पाएको थिएन । पटकपटक सहकारी संस्था धाएपछि गाउँका लागि ७ बोरा मल आयो । गाउँमा किसानका लागि भाग लगाउँदा साढे पाँच केजी एक जनालाई मल भाग पर्‍यो ।” उक्त मलले खेती गर्ने कि ब्याड राख्ने किसान दोधारामा रहेको उहाँले बताउनुहुन्छ । 

राजपुर गाउँमा एक सय ३० घर परिवार भएपनि मलका लागि ६५ घर परिवार मात्रै आउँदा गत शुक्रबार साढे पाँच किलोको दरले किसानले मल प्राप्त गरेको चौतारी कृषि सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद चौधरी बताउनुहुन्छ । मलका लागि सबै घरपरिवार आएको भए किसानले साढे पाँच किलो मल पनि पाउन सक्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । 

अध्यक्ष चौधरीले भन्नुभयो, “सहकारीले पाएको एक सय बोरा युरिया र डिएसपी मल वडाका १३-१४ वटा टोललाई बराबर बाँडेका थियौँ । त्यहीमध्येको मल राजपुर गाउँमा ६५ घरपरिवारले बाँड्दा साढे पाँच किलोका दरले मल परेको रहेछ ।” उहाँले किसानको आवश्यकताका आधारमा मल आउनै नसकेको बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “गाउँमा किसानहरूले मलका लागि दिनहुँ सोधिरहनुहुन्छ तर जिल्लामै हामीले पाइरहेका छैन ।” 

कृषि सामग्री कम्पनी शाखा कार्यालय घोराहीका शाखा प्रबन्धक टोपाराम गौतमले भने माग अनुसार रासायनिक मल आउन नसकेपनि जिल्लामा मलको अभाव भने नहुने बताउनुभयो । मल आउने क्रम जारी रहेको र जिल्लाको मागको आधारमा करिब आधा मल आइसकेकाले अभाव हुने अवस्था नरहेको गौतमको भनाइ छ । 

शाखा प्रबन्धक गौतमले खेती योग्य जमिनको आवश्यकताका आधारमा किसानलाई कार्यालयले १६३२.७५० मेट्रिक टन युरिया र ९०२.७०० मेट्रिक टन डिएसपी मल विक्री गरेको बताउनुभयो । उहाँका अनुसार कार्यालयको गोदाममा ३१०.८०० मेट्रिक टन युरिया र ८०.००० मेट्रिक टन डिएसपी मल स्टक रहेको समेत बताउनुभयो । गौतमका अनुसार घोराही र बङ्गलाचुली क्षेत्रमा विगतका वर्षहमा खपत भएको मल र खेती योग्य जमिनका आधारमा ४ हजार मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएसपी मल आवश्यकता रहेको छ ।

शाखा प्रबन्धक गौतमले भन्नुभयो, “विगतका वर्षहरूमा रासायनिक मलको खपतको अवस्था र अहिले आएको मलको अनुपातलाई हेर्ने हो भने मलको अभाव हुने अवस्था छैन । तर किसानलाई सोध्दा मल पाएको छैनौँ भन्ने गर्दछन् ।” उहाँले रासायनिक मल सहकारीबाट समान रूपमा किसानहरूलाई वितरण गर्नुपर्ने भएपनि पहुँचवालाले नियन्त्रण गर्दा सबै किसानहरूसम्म मल पुगेन कि भन्ने आशङ्का उत्पन्न भएको समेत बताउनुभयो । 

जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनीले ३० प्रतिशतका दरले रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई वितरण गर्ने गरेका छन् ।