• २७ वैशाख २०८१, बिहिबार

राजमार्ग निर्माणमा वन बाधक

blog

बुलबुले समाचारदाता

सुर्खेत, असार १० गते । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडक (३५ किलोमिटर) निर्माण कार्य सुस्त गतिमा भइरहेको छ।

रुख कटानको काम ठप्प हुँदा काम अघि बढ्न नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो। सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत कामले गति लिन सकेको छैन। राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो। २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। इन्जिनियर हरिजनले भन्नुभयो, “आयोजनाले वन विभागसँग रुख कटानका लागि प्रक्रिया अघि बढाएको छ। त्यसपछि कामको भौतिक प्रगति देखिने छ।”

सडक निर्माणमा वन क्षेत्र भने बाधा बनेको छ। धुलियाबिट–भेडाबारी सडकखण्डको गङ्गटे खोलादेखि बडीपाटीसम्म चार किलोमिटर वन क्षेत्र पर्दछ। उक्त स्थानमा स्तरोन्नतिको काम सुरु हुन सकेको छैन। प्रक्रियागत ढिलाइले काममा असर पुगेको इन्जिनियर रामसागर हरिजनले बताउनुभयो।

सडक निर्माणका लागि वन क्षेत्रका रुख काट्नुपर्ने हुन्छ। सडक निर्माण क्षेत्रभित्र रहेका एक हजार चार सय रुख काट्नुपर्ने देखिएको छ। ती रुखलाई काट्नका लागि टाँचा लगाइसकिएको छ। सडकको आफ्नो क्षेत्रभित्र पर्ने भए पनि सार्वजनिक जग्गामा रहेका रुख कटानका लागि अनुमति 

आइसकेको छैन। अनुमति आउनेबित्तिकै काम सुरु गरिने आयोजनाले जनाएको छ। रुख कटानको प्रक्रिया लामो हुँदा काममा केही ढिलाइ भएको कार्यालयको भनाइ छ। त्यसै गरी झुप्राखोलादेखि वीरेन्द्रनगरसम्म करिब चार किलोमिटर वन क्षेत्र रहेको छ। उक्त क्षेत्रमा समेत काम सुरु हुन नसकेको हो। 

बाह्र पुल निर्माण हुने 

राजमार्गको धुलियाबिट–भेडाबारी सडकखण्डमा १२ वटा पक्की पुल निर्माण गरिने भएको छ। जसमध्ये आठ वटा पुलको फाउन्डेसन खन्ने कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ।

अबको एक महिनामा पाँच वटा पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनियर हरिजनले जानकारी दिनुभयो। उहाँका अनुसार १२ वटै पुलको काम सुरु भइसकेको छ। कच्ची र जीर्ण सडकका कारण यस क्षेत्र आसपासका बासिन्दाले दशकौँदेखि सास्ती खेप्दै आएका छन्। यो रुटमा बर्खामा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ। धुलियाबिट–भेडाबारी सडकको विसं २०३६ सालमै ट्र्याक खोलिएको थियो। सडक निर्माण थालेको चार दशकपछि मदन भण्डारी राजमार्ग नामकरण गरी सुधारको काम अघि बढेको हो। सडक स्तरोन्नतिको काम सम्पन्न भए यहाँ बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ।

मदन भण्डारी राजमार्गको धुलियाबिट–भेडाबारी सडकखण्ड निर्माणमा ४१ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाबिट–भेडाबारी सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भेडाबारी सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने भएको छ। स्तरोन्नति गर्दा झन्डै ५२ प्रतिशत सडक चौडाइ बनाइने जनाइएको छ। डिपिआर अनुसार धुलियाबिट–भेडाबारीसम्म ३५ किलोमिटर स्तरोन्नति हुने छ।

हालसम्म राजमार्गको १२ किलोमिटर सडक ग्राभेल भइसकेको छ। ग्राभेल भइसकेको सडकमा कालोपत्रेको काम अघि बढाइएको छ। हाल नाला निर्माण, टेवा पर्खाल निर्माण, स्ट्रक्चरको काम भइरहेको छ। वन क्षेत्रबाहेक अन्य स्थानमा काम धमाधम भइरहेको कार्यालयले जनाएको छ।