• १२ असार २०८१, बुधबार

चुरे भेगमा यातायात ठप्प

blog

सर्लाही समाचारदाता

सर्लाही, असार १० गते । सर्लाहीको चुरेभेगमा यातायातका साधन ठप्प भएका छन्। शुक्रबार बिहानदेखि भारी वर्षा हुन थालेसँगै खोलाको बाटो बिग्रिएपछि चुरेभेगमा यातायातका साधन चल्न छाडेका हुन्।

सडक सञ्जालमा नजोडिएको चुरेका दुर्गम बस्तीमा खोलाको बगर भएर जोखिमपूर्ण किसिमले बस, ट्याक्टर, जिपलगायतका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। जिल्लाकै ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा शुक्रबार बिहानदेखि यातायातका साधन बन्द भएको बस व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो। शुक्रबार राति भएको वर्षाले खोलाको बाटोमा थप क्षति गरेको उहाँले बताउनुभयो।  

नारायण खोलाका स्थानीयवासीलाई अब औषधी उपचार गर्न वा दैनिक खाद्यवस्तु किनमेलका लागि लालबन्दी बजारसम्म आउनु पर्दा चुरेको फेदीस्थित पत्थरकोट छेडा गाउँसम्म आउन लखन्देही र डाइनी खोलाको बगरैबगर तीन घण्टाभन्दा बढी पैदल हिँड्नु पर्छ। अझ माथिल्लो भेग अर्थात् सिन्धुलीको सीमा नजिकबाट छेडासम्म आइपुग्न पाँच घण्टासम्म लाग्छ। 

वडाध्यक्ष घिसिङका अनुसार नारायण खोला क्षेत्रमा अब वर्षायामभर बस सञ्चालन हुँदैनन्। खोलामा पानी घटेका बेला मुस्किलले ट्याक्टर सञ्चालन हुने गरेका छन्। खोलामा बाढी आउन सुरु भएसँगै लालबन्दी नगरपालिका–१५, परवानीपुर हुँदै कालिञ्जोर खोला भएर चुरेभेगमा चल्ने बस र ईश्वरपुर नगरपालिका–१२, घारिबथान हुँदै पिपलदमारतर्फ जाने बस पनि बन्द भएका छन्। नारायण खोला र परवानीपुरबाट सर्लाहीको चुरेभेग हुँदै सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न बस्तीसम्म चल्ने १० वटा बस हिजोबाट चल्न छाडेका वडाध्यक्ष घिसिङले बताउनुभयो। 

अब असोज/कात्तिकपछि मात्रै खोलाको बगरबाट बस चल्ने स्थानीयवासीले बताएका छन्। खोलामा बाढी आउन थालेपछि चुरेभेगसम्म मोटरसाइकल चलाउन पनि समस्या भएको लालबन्दी नगरपालिका–१५, शिर कालिञ्जोरका बुद्धि बलले जानकारी दिनुभयो।  

भौगोलिक रूपमा अत्यन्त विकट रहेका यहाँको चुरेभेगका बस्तीमा सडक पु¥याउन ठुलो रकम खर्च गर्नुपर्ने भन्दै स्थानीय तहले सडक पु¥याउनेतर्फ बेवास्ता गर्दै आइरहेका छन्। खोलाको बगरबाट बस चल्न छाडेसँगै बिरामी हुँदा वा अन्य आपत्विपत् पर्दा असाध्य गाह्रो पर्ने गरेको ईश्वरपुर नगरपालिका–१२, पिपलदमारका अगुवा बलिमराज बाइवाले गुनासो गर्नुभयो। 

चुरेभेगका स्थानीयवासीको मुख्य बजार लालबन्दी हो। बस चल्न छाडेपछि अब स्थानीयवासीले खोलामा बाढी नआएको र पानी कम भएको बेला ट्याक्टरमार्फत सामान ढुवानी गर्ने र केही स्थानीयवासी ट्याक्टरमै चढेर पनि बजार झर्ने गर्छन्। वर्षा हुँदा चुरे भेगका विद्यार्थीलाई खोला तरेर विद्यालय जानसमेत मुस्किल पर्छ। ठुलो पानी परेको दिन चुरे भेगका विद्यालय बन्द नै हुने गरेका छन्।