• १२ असार २०८१, बुधबार

स्नातक अध्ययनरत छोरीलाई सम्मान

blog

सर्लाही समाचारदाता

सर्लाही, असार १० गते । चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो।

मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादव, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतोले छोरीलाई सम्मान गर्नुभएको गाउँपालिकाले जनाएको छ। प्रदेशका शिक्षामन्त्री यादवले चन्द्रनगर गाउँपालिकाको यो अभियान प्रशंसनीय रहेको र साक्षरता अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

स्नातक तहमा भर्ना भई अध्ययन गर्ने प्रत्येक छोरीलाई प्रोत्साहन स्वरूप यसैगरी सम्मान गर्दै यो अभियानलाई निरन्तरता दिइने चन्द्रनगर गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष महतोले उच्च शिक्षा अध्ययन गर्ने छोरीलाई गाउँपालिकाले सम्मान गर्ने नीति ल्याएपछि आआफ्ना छोरीलाई स्नातक तहमा भर्ना गराउने क्रम बढेको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाभित्र अहिले पनि ६५ प्रतिशत बालविवाह हुने गरेको उल्लेख गर्दै यो अभियानपछि बालविवाहमा न्यूनीकरण भई छोरीको उच्च शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

चन्द्रनगर गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १२ उतीर्ण भइ २० वर्ष पूरा गरेर विवाह गर्ने छोरीलाई विवाह मण्डपमै पुगेर ५० हजार रुपियाँसहित सम्मान गर्दै आइरहेको छ। अहिले ११ हजारसहित सम्मानित भएका छोरीलाई पनि २० वर्ष पुगेर विवाह गर्दा गाउँपालिकाले थप ५० हजारसहित सम्मान गर्ने गाउँपालिकाका अध्यक्ष महतोले जानकारी दिनुभयो।