• २६ वैशाख २०८१, बुधबार

सिमकोटमा ‘एक गाउँ एक विशेष उत्पादन’

blog

हुम्ला समाचारदाता

हुम्ला, असार १० गते  । सिमकोट गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षबाट ‘एक गाउँ एक विशेष उत्पादन’ कार्यक्रम लागु गर्ने भएको छ । 

शनिबार सातौँ गाउँ सभामा गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रममा छरिएर कृषि क्षेत्र विकास गर्नुभन्दा पकेट क्षेत्रको विकास गर्दै त्यो कार्यक्रम कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा धेरै सम्भावना भएको कृषि क्षेत्रको विकासका लागि एक गाउँ एक विशेष उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । 

यो कार्यक्रम अन्तर्गत पकेट क्षेत्रको विकासका लागि कृषक समूह, सहकारी र नीति क्षेत्रलाई परिचालन गर्ने नीति गाउँपालिकाले लिएको छ । विशेष गरी यस वर्षबाट सिमकोट गाउँपालिकाबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो र सिमी खरिद गरेर लिन सुरु गरेपछि गाउँपालिकाले यो कार्यक्रमलाई प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले बताउनुभयो । यसबाट पहिलो पटक रैथाने बालीको उत्पादनबाट प्रत्यक्ष रूपमा किसानका हातमा नगद पर्न सुरु भएको छ । 

त्यसै गरी स्याउ, ओखर पनि राम्रो उत्पादन हुने भएका कारण यसलाई प्रत्येक घरमा खेतीका रूपमा लगाउने वातावरण तय गर्ने नीतिमा उल्लेख गरिएको छ । 

उहाँले सबैतिर सबै बाली छरिएर लगाउँदा उत्पादन थोरै हुने र पहिचानसमेत नहुने भएका कारण यो कार्यक्रम लागु गर्न खोजिएको बताउनुभयो । यसका लागि गाउँपालिकाले अनुदान लिने नीति लिने भएको छ । 

त्यसै गरी अर्गानिक गाउँपालिका घोषणा कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ । कृषि उपजको बजारीकरणका लागि साप्ताहिक हाटबजार सञ्चालन र कृषि मेला प्रदर्शनी कार्यक्रमलाई पनि गाउँपालिकाले सञ्चालनमा ल्याउने भएको छ । 

त्यसै गरी बाँझो जग्गा राख्ने प्रवृत्तिलाई निरुत्साही बनाउनका लागि गाउँपालिकाबाट प्रवाह हुने सेवा र सुविधामा कडाइ गरिने छ ।