• २७ वैशाख २०८१, बिहिबार

सिँगारु नृत्यमा जगतीपुर प्रथम

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असार १० गते । स्थानीय लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित खलङ्गामा सिँगारु नाच प्रतियोगिता आयोजना गरिएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा भेरी नगरपालिका–११, जगतीपुरको नृत्य समूह प्रथम भएको छ । नलगाड नगरपालिकाको समूह द्वितीय र भेरी नगरपालिका–४, बोहरा गाउँको नृत्य समूह तृतीय भएको छ । 

भेरी नगरपालिका–२, पोखरा गाउँको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । सान्त्वना हुने समूहलाई १० हजार एवं सिँगारु नाचमा सहभागी समूहलाई पाँच पाँच हजार रुपियाँका दरले सहयोग प्रदान गरिएको जनाइएको छ ।

प्रतियोगितामा लोकबाजासहित कलाकार सहभागी भएका थिए । प्रतियोगितामा नौ वटा समूहले भाग लिएका थिए । मादल, ट्याम्की, बाँसुरीलगायतका बाजा र सिँगारु नाचसहित नृत्य समूह सहभागी भएका थिए । प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार सम्पदा संरक्षण गर्ने र युवा पुस्तालाई यो नाचबारे जानकारी गराउने उद्देश्यले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सिँगारु नाच प्रतियोगिता आयोजना गरिएको हो । पशुपन्छी संरक्षणमा योगदान पु-याएबापत बारेकोट गाउँपालिका–५ का गोविन्दबहादुर सिंहलाई जाजरकोट ताराको उपाधिसहित सम्मान गरिएको थियो । जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले पुरानो लोकसंस्कृतिलाई बचाउन भावी पुस्तालाई प्रेरणा दिन आवश्यक भएको बताउनुभयो ।