• ५ जेठ २०८१, शनिबार

उपप्रधानमन्त्री खड्कासँग अष्ट्रेलियाका राजदूत भोल्कको शिष्टाचार भेट

blog

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गर्नुहुँदै अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क । तस्बिर: उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, साउन ६ गते। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको हो।

रक्षा मन्त्रालयका प्रवक्ताले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उपप्रधानमन्त्री खड्काले राजदूत भोल्कसँगको भेटमा नेपाल र अष्ट्रेलियाबीच घनिष्ट सम्बन्ध रहेको कुरा व्यक्त गर्नुभयो उल्लेख छ। उहाँले वर्तमान सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिबद्ध रहेको र यसका लागि काठमाडौंस्थित अष्ट्रेलियन राजदूतको विशेष भूमिका रहने विचारसमेत व्यक्त गर्नुभएको छ। 

उपप्रधानमन्त्री खड्काले कोभिड–१९ को समयमा अष्ट्रेलियाबाट प्राप्त खोप एवं अन्य सहयोगको धन्यवाद दिँदै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने विद्यार्थीको सुरक्षा एवं संरक्षणका लागि अष्ट्रेलियन सरकारको तर्फबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। 

भेटपछि सार्वजनिक विज्ञप्तिमा नेपाली सेना र अष्ट्रेलियाको सेनाबीचको सहयोग आदान–प्रदान गर्ने प्रशस्त संभावना रहेको कुरा उपप्रधानमन्त्री खड्काले राख्नुभएको उल्लेख गरिएको छ। उहाँले दुई देशको सेनाबीच विभिन्न प्रकारका तालिम एवं शैक्षिक कार्यक्रम आदान–प्रदान गर्ने कार्य हाल भइरहेको र भविष्यमा पनि निरन्तरता हुने विचार व्यक्त गर्नुभएको छ। 

उपप्रधानमन्त्री खड्कासँगको भेटमा राजदूत भोल्कले  नेपाली विद्यार्थी एवं समुदायप्रति अष्ट्रेलियाका जनताको सदभाव रहेको बताउनुभयो। नेपाली समुदायको कारण अष्ट्रेलियाको आर्थिक एवं सांस्कृतिक विकासमा योगदान पुगेको विचार व्यक्त गर्दै उहाँले कृषि, उद्योग, व्यवसायतका क्षेत्रमा दुई देशबीच सहयोग आदान–प्रदान गर्ने पर्याप्त संभावना रहेको कुरा बताउनुभयो। 

उहाँले रक्षा क्षेत्रमा दुई देशका सेनाबीच विभिन्न प्रकारका कार्यक्रममा सहकार्य हुँदै आइरहेको कुरा उल्लेख गर्नुहुँदै आगामी दिनमा यस्तो सहयोग विस्तार गर्ने पर्याप्त संभावना रहेको विचार व्यक्त गर्नुभयो।  आफ्नो कार्यकालमा नेपाल र अष्ट्रेलियाको सम्बन्धलाई थप उचाईमा पुयाउन आफू प्रतिवद्ध रहेको विचारसमेत व्यक्त गर्नुभएको छ। 

विज्ञप्तिमा भेटको सुरुमै राजदूत भोल्कले उपप्रधानमन्त्री एवं रक्षामन्त्री नियुक्त हुनुभएकोमा उपप्रधानमन्त्री खड्कालाई बधाई दिनुभएको उल्लेख छ। मन्त्री खड्काले बधाई एवं शुभकामना निमित्त राजदूत भोल्कलाई धन्यवाद  दिनुभएको छ। 



भेटमा अवसरमा रक्षा मन्यालय एवं परराष्ट्र मन्त्रालय सहसचिवको समेत उपस्थिति रहेको थियो।