• १० जेठ २०८१, बिहिबार

नेपाल योगको उदगमस्थल हो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल योगको उदगमस्थल भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रवचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले योगको पुनरजागरण नेपालबाटै सुरु भएको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “यो योगको उद्गमस्थल हो । प्राय नेपालीले योग भन्न छोडेर योगा भन्न थालेका छन् । हामी योगको कुरा गरिरहेका छौं, १५ हजार वर्ष अगाडि त्यो समय, तीथि मिति थिएन । तीथि मिति उत्पन्नै भएको थिएन ।”

उहाँले योगले दर्शन, सिद्धान्त र ज्ञानलाई व्यवहारमा उतारेको बताउनुभयो । ज्ञानलाई व्यवहारमा कसरी उतार्ने ? सबै सुखी हुन चाहन्छन् । उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपाली भनेर किन भन्यौं भने नागरिक सुखी र सुरक्षित हुनुपर्छ । सुरक्षित हुने थुप्रै पाटाहरु छन् । खाना, आहारदेखि अरुबाट सुरक्षित हुने, आन्तरिक हिसाबमा आफूले आफूलाई बिग्रन दिनु हुँदैन ।” योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन मद्दत गर्ने उहाँको भनाइ छ । 


यसअघि सत्यसँग नलडौं, शक्तिसँग नझुकौं भनेर आफूले जोड दिनेगरेको भन्नुहुँदै उहाँले ‘आफू भलो त जगत भलो’ भन्ने गरिए पनि सबैले भलो चिताउने सोच राख्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल ज्ञानभूमि, तपोभूमि, ध्यानभूमि भएको शिक्षा दिने, गुरु र शिष्य बनाउने यहीबाट प्रारम्भ भएको उहाँको दाबी छ । “शिक्षा, योगको, ज्ञानको प्रारम्भ भएको यो थलो आज पछाडि परेको छ । त्यसलाई अगाडि बढाउन धेरै सशक्त माध्यम हो योग । हामी तीक्ष्ण, विद्वान, कर्मवीर हुनुपर्छ, दाता, दानी हुनुपर्छ । यस्तो भूमि संसारमा कहीं छैन, जसको शीरमा हिमाल होस्” अध्यक्ष ओलीले भन्नुभयो ।