• ५ जेठ २०८१, शनिबार

नेपाली कांग्रेसद्वारा शोक व्यक्त

blog

मंगलबार निधन हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह । फाइल तस्बिर

काठमाडौं, असार ६ गते। नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकोप्रति शोक व्यक्त गरिएको छ। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुधबार विज्ञप्ति जारी गर्दै असार ५ गते भएको सवारी दुर्घटनामा मन्त्री सिंहसहित उहाँकी पत्नी अमृतादेवी र भाउजू जयादेवी सिंहको निधनप्रति गहिरो दुख व्यक्त गर्नुभएको हो। 

वि.सं. २०१५ मा जन्मनुभएका सिंह २०३१ देखि सक्रिय राजनीतिमा हुनुहुन्थ्यो। स्वर्गीय सिंह गत निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

यसैगरी, पूर्वमन्त्री एवम् संविधानसभा सदस्य स्वर्गीय नविन्दराज जोशीकी आमा एवम् प्रतिनिधिसभा सदस्य सपना राजभण्डारीको सासु गीता जोशीको निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ। उहाँको मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको थियो।

 कांग्रेसले निधन भएकाप्रति गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।