दोलखा समाचारदाता
दोलखा, असार ६ गते । बाबुबाजेका पालादेखि पानीको हाहाकार बेहोर्दै आएका बिगु गाउँपालिका–१, स्यालुवासीको घण्टौँ लगाएर पानी बोकेर ल्याउनुपर्ने झन्झट हटेको छ।
स्यालु खानेपानी योजना निर्माण सम्पन्न भएपछि स्यालुवासीको खानेपानीको समस्या हटेको सो खानेपानी योजना निर्माण समितिका अध्यक्ष सेर्पु तामाङले बताउनुभयो। अहिले घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता लोप्साङ तामाङले भन्नुभयो, “घरबाट टाढाको मर्वानी भन्ने ठाउँको कुवाको पानी पिउनुपथ्र्यो। पालो पाउन पनि गारो थियो। हिउँदमा त पालोका लागि राति नै कुवामा पुग्नुपथ्र्याे।”
पानीको अभाव हुँदा यहाँका महिलाले पुरुषको भन्दा बढी समस्या झेल्नु परेको थियो। विष्णुमाया तामाङ विगत स्मरण गर्दै उहाँले भन्नुभयो, “राति नै जाँदा पनि कहिलेकाहीँ त १० बजेतिर पालो आउँथ्यो। अन्तिमतिर धमिलो पानी पाइन्थ्यो। त्यही पनि लिएर आउनै पथ्र्यो, पिउनै पथ्र्यो।”
कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यो योजना निर्माण भएको हो। यो योजनामा कादुरी एग्रिकल्चरल एसोसिएसन पोखराको ७५ लाख आठ हजार २५९ र जनश्रमदान छ लाख ५८ हजार गरी कुल ८१ लाख ६६ हजार २५९ रुपियाँ लगानी रहेको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो।