नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख २९ गते । नेपाल, चीन र भारत जोड्ने कालीगण्डकी काेरिडोरको स्तरोन्नतिको काम तिब्र पारिएको छ । ४३५ किलोमिटर लम्बाई रहेको यो राजमार्ग त्रिदेशीय व्यापारिक राजमार्ग हो । दक्षिणमा भारतको सीमा सुनौलीदेखि उत्तरमा चीनको सीमा कोरालासम्म यो सडक जोडिएको छ ।
यसबाट पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी र मुस्ताङ गरी ६ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित छन् ।
बागलुङ जिल्लाका बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा करिब ३५ किलोमिटर यो सडक रहेको छ । यसलाई यहाँका स्थानीयले विकासको मेरुदण्डको रूपमा लिएका छन् । बागलुङ नगरपालिका–१२ मा लामो समयदेखि रेस्टुरेन्ट सञ्चालन गर्दैआएका विजय केसीले कालीगण्डकी काेरिडोरले अवसर सिर्जना गरेको बताउनुभयो ।
‘कालीगण्डकी काेरिडोरको ट्रयाक खोलेसँगै मैले सडक छेऊमा रेस्टुरेन्ट सञ्चालन गर्दैआएको छु’ उहाँले भन्नुभयो, “मजस्तै धेरै व्यक्तिले काेरिडोरको सडक छेऊमा व्यवसाय सुरु गर्नु भएको छ ।’ कालीगण्डकी काेरिडोरले यस क्षेत्रका नागरिकलाई व्यवसायी बन्न उत्पेरित गरिरहेको छ ।
दैनिक सवारीको बाक्लो चाप हुने यस सडक छेउछाऊमा होटल, रेस्टुरेन्टका सम्भावनाहरू खोज्न थालिएका छन् । यसले आशा र सम्भावना जगाइरहेको छ ।
बागलुङ नगरपालिका–१४ का भरत पौडेलले कालीगण्डकी काेरिडोरले यस क्षेत्रमा सम्भावनाको ढोका खोलेको बताउनुभयो ।
‘सडकले यातायातमा सहज हुनुका साथै अन्य व्यापार र व्यवसाय गर्न अवसर सिर्जना गरेको छ । उहाँले भन्नुभयो, “यसले बागलुङको दक्षिणमा आशा जगाइरहेको छ ।’ वैदेशिक रोजगारिका कारण अपेक्षाकृत रूपमा ठुलो सङ्ख्यामा व्यवसाय गर्ने मान्छे ननिस्केपछि सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । ‘बाटोले अवसर सिर्जना गरेको छ, तर यहाँ गर्ने लगानी सुरक्षित नठान्दा धेरै युवाहरू विदेश पलायन भइरहेका छन् ।’
लामो समयदेखि बेलबगरमा रेस्टुरेन्ट सञ्चालन गर्दैआएका जैमिनी नगरपालिका–७ जैदीका तमसम रानाले सडकले यस क्षेत्रका नागरिकलाई व्यवसायी र उद्यमी बन्न उत्प्रेरित गरिरहेको बताउनुभयो । ‘कालीगण्डकी काेरिडोरसँगै विभिन्न वडा र टोलसम्म पुग्नेगरी सडक सञ्जाल पनि निर्माण गरिएको छ’ उहाँले भन्नुभयो ‘यसले गर्दा चाहना हुने, परिश्रम गर्ने र लगानीको क्षमता भएकालाई राम्रो अवसर सिर्जना गरिरहेको छ ।’
जैमिनी नगरपालिका–१ मा होटल व्यवसाय गर्दैआएका राजेन्द्रबहादुर क्षेत्री ‘हरि’ सडकले थुप्रै अवसरहरू सिर्जना गरेको बताउनुभयो । अपेक्षाकृत रूपमा व्यवसायीहरू बढ्न नसक्नुमा भने उहाँमा चिन्ता छ । सडक बने पनि प्रभावकारी रूपमा स्थानीय उत्पादन गर्न नसक्नु, व्यवसायीको सङ्ख्या बढाउन नसक्नु नागरिको पनि कमजोरी रहेको क्षेत्रीको भनाइ छ ।
सडक बने पनि अपेक्षाकृत रूपमा व्यवसायी र उद्यमीको सङ्ख्या बढ्न नसक्नुको एउटा महत्त्वपूर्ण कारण सुरक्षा रहेको भरत पौडेलको भनाइ छ । सडक राम्रो भए पनि बसाइसराई नरोकिएकोमा जैमिनीवासी चिन्तित छन् । बसाइसराई रोकिए मात्र यसको फाइदा हुने उहाँहरूको बुझाई छ ।
बागलुङ नगरपालिका –१४ का नरेश्वर शर्माले कालोपत्रे गर्न ढिलाइ गर्दा आफुहरूले धुलो खान बाध्य भएको बताउनुभयो । ‘कालोपत्रेको लागि पटक–पटक म्याद थप गर्दा पनि ठेकेदारले काम गर्न खासै चासो देखाउँदैनन्’ उहाँले भन्नुभयो ‘कालोपत्रे गर्न ढिलाई हुँदा हामीहरू धुलो खान बाध्य छौँ ।’
बागलुङ नगरपालिका–१४ का सन्तोष शर्माले कालोपत्रे गर्न ढिलाई गर्दा यस क्षेत्रका नागरिकको स्वास्थ्यमा समस्या देखिएको र राम्रो भए बलेवा एयरपोर्ट पनि सञ्चालनमा आउन सक्ने बताउनुभयो ।
बागलुङ मालुढुङ्गादेखि बलेवा एयरपोर्टसम्मको १० किलोमिटरको सडक स्तरोन्नतिको जिम्मा कृष्ण बिएन संयुक्त निर्माण कम्पनीले लिएको थियो । ५४ करोड रुपियाँमा निर्माण सम्झौता गरे पनि काममा ढिलाइ हुँदा स्थानीय आक्रोशित छ ।
बलेवादेखि गुल्मीको हर्मिचौरसम्मको ३० किलोमिटर सडक स्तरोन्नतिका लागि कालिका कन्ट्रक्सनले जिम्मा लिएको थियो । कम्पनीले ३ अर्ब ३३ करोड रुपियाँमा लागतमा स्तरोन्नतिको जिम्मा लिएको थियो । यस खण्डको चिल्लो सडकमा सरर गाडी हुइकिँदा मालढुङ्गादेखि बलेवासम्मको सडक खण्डमा भने धुलो खाँदै, दुर्घटनाको जोखिम मोल्दै यात्रा गर्न बाध्य हुनुपर्छ ।