जनार्जन खत्री
सर्लाही, वैशाख २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षाको अवस्था सुधार नगरे मधेशको अवस्था थप खराब हुनसक्ने सङ्केत गर्नुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा सोमबार यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि भूमिपूजा गर्नुहुँदै मुख्यमन्त्री सिंहले मधेशमा शिक्षाको अवस्था झन्झन् खस्कँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको हो । यहाँ २० वर्षअघि र अहिलेको शिक्षाको स्तर तुलना गर्दा झनै खराब भएको मुख्यमन्त्री सिंहको भनाइ छ ।
पहिले मधेशका शिक्षकले पहाडमा गएर पढाउने गरेकोमा अहिले ठीक उल्टो अवस्था आएको मुख्यमन्त्री सिंहले बताउनुुभयो । “२० वर्षअघि पहाडका कुना काप्चामा मधेशका शिक्षक गएर विज्ञान, गणित पढाउँथे, स्वास्थ्य सेवा दिने अनमी, अहेब पनि यहीँका हुन्थे, “मुख्यमन्त्री सिंहले भन्नुुभयो, “तर अहिले त देशका १० जना अशक्षम युवामा सात जना मधेश प्रदेशकै हुन्छन् ।”
अब आफूहरुको दायित्व मधेश प्रदेशको शिक्षाको अवस्था सुधार गर्नु रहेको मुख्यमन्त्री सिंहको भनाइ छ । उहाँले अस्पताल जस्तै अब एक÷दुुई दिनमा आफूले विद्यालयको अनुुगमन सुरु गर्ने तयारी गरेको बताउनुुभयो ।
अबका बालबालिकामा शिक्षाको अवस्था सुधार नभए अहिले जति नै विकास गरे पनि त्यसको कुनै अर्थ नहुने मुख्यमन्त्री सिंहको तर्क छ । उहाँले शिक्षाको अवस्था सुधार गर्ने अभियानमा गम्भीरताका साथ लागि पर्न पालिकाहरुसँग आग्रह गर्नुभयो ।
शिक्षा क्षेत्र सुधारमा आफूले चाल्न लागेको अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । “विद्यालय अनुुगमनमा जाँदा पालिका प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुखलाई सामेल गर्ने तयारी हुँदैछ ।,” मुख्यमन्त्री सिंहले भन्नुुभयो, “शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय सरकारलगायत सबै क्षेत्रबाट साथ, सहयोगको अपेक्षा गरेको छु ।”
मुख्यमन्त्री सिंहले आफूले अनुुगमन गरेर बन्द गर्न निर्देशन दिएका अस्पताल पुनः सञ्चालनमा आएको गुनासो आएको बताउँदै मापदण्ड नपुुगेर बन्द गर्न भनिएका अस्पताल सञ्चालन भएको भए निगरानी गरेर सञ्चालकमाथि नै कारवाही गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको जानकारी दिनुुभयो । मुख्यमन्त्री सिंहले यातायात व्यवस्था कार्यालयको भवन चाँडो भन्दा चाँडो निर्माण गरेर सेवाग्राहीलाई सेवा लिन सहज हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुुभयो ।
यातायात व्यवस्था कार्यालय मलङ्गवा अहिले जिल्ला समन्वय समिति (साबिकको जिविस) को भवनबाट सञ्चालन भइरहेको छ । अब मलङ्गवा नगरपालिका २ मा रामकविर मठले प्रदान गरेको जग्गामा कार्यालयको आफ्नै भवन निर्माण गरिने भएको छ ।
मुख्यमन्त्री सिंह र मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले संयुक्तरुपमा भूमिपूजा गरी भवन निर्माण कार्यको शुुभारम्भ गर्नुभएको हो । कार्यालयको भवन निर्माणका लागि यो वर्ष विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको र आगामी आर्थिक वर्षमा बजेट विनियोजन भए भवन निर्माणको काम अघि बढाउने तयारी रहेको यातायात व्यवस्था कार्यालय मलङ्गवाका प्रमुख शशीप्रसाद यादवले जानकारी दिनुुभयो ।