• २९ वैशाख २०८२, सोमबार

बर्थिङ सेन्टरले गर्भवती महिलालाई राहत

blog

बागलुङको निसीखोला–२ देवीस्थानमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य एकाइ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख २९ गते । जिल्लाको निसीखोला गाउँपालिका–२ अर्नाकोटमा सामुदायिक स्वास्थ्य केन्द्रमा सञ्चालित बर्थिङ सेन्टरले ग्रामीण भेगका महिलाले प्रसूतिको बेला पाउने दुःख कम भएको छ । 

गाउँघरमै सुरक्षित सुत्केरी सेवा पाउँदा बुर्तिवाङ अस्पतालसम्म पुग्नुपर्ने बाध्यता टरेको छ । ‘घर छेउमा खुलेको सुरक्षित सुत्केरी सेवाले खर्च र समय बचेको छ भने दुःख पनि कम भएको छ’ स्थानीय रमा विकले भन्नुभयो, ‘सुत्केरी व्यथाले च्याप्दा यसअघि बुर्तिवाङ अस्पतालसम्म पुग्दा ज्यानकै जोखिम त थियो नै गाडी भाडामै १० हजार रुपियाँभन्दा बढी खर्च गर्नुपथ्र्यो । बर्थिङ सेन्टरले ज्यान र पैसा दुबै बचाएको छ ।’ 

अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइमा तीन वर्षदेखि बर्थिङ सेन्टर सञ्चालनमा छ । यो सेन्टरमा वर्षमा १२ जनासम्मले सुरक्षित सुत्केरी सेवा पाएका छन् । जटिल समस्यामा स्वास्थ्यकर्मीले समयमै सुरक्षित अस्पतालमा रिफर गरिदिन्छन् । बर्थिङ सेन्टर नहुँदा कतिपय महिला जोखिम मोलेर घरमै सुत्केरी हुनुपर्ने बाध्यता थियो । 

‘केही वर्षअघि घरमै सुत्केरी हुँदा तीन जनाले ज्यान गुमाएका थिए’ स्वास्थ्य चौकीका अहेब चेतबहादुर कुँवरले भन्नुभयो, ‘त्यो दुःख भोगेकाले बर्थिङ सेन्टरको खोजी गरेका थियौं, अहिले पूरा भएको छ ।’ बर्थिङ सेन्टरका लागि कर्मा फ्लाइट फाउन्डेसनले भवन निर्माण गरिदिएको हो । फाउन्डेसनले २० लाख रुपियाँ सहयोग गरेपछि बनेको भवनमा २५ लाख रुपियाँका उपकरण समेत सहयोग गरेको थियो । 

दुई जना कर्मचारीलाई फाउन्डेसनले सहयोग समेत गरेको छ । चालु वर्षदेखि कुँवरलाई गाउँपालिकाले करार गरेको छ । दुर्गा कुँवर विक भने दक्ष प्रसूतिकर्मीको रूपमा २०७६ देखि नै फाउन्डेसनकै कर्मचारीको रूपमा कार्यरत हुनुहुन्छ । फाउन्डेसनले १० लाख रुपियाँ खर्चेर अर्नाकोट सामुदायिक स्वास्थ्य केन्द्रमा प्रसूति प्रतिक्षाघर समेत निर्माणको काम थालेको छ ।

अर्नाकोटमा निसीखोला वडा–२ र ढोरपाटन वडा ५ गरी झण्डै तीन सय परिवारको बसोवास छ । घरपायकमा स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारमा सहज भएको स्थानीय नर्मती रसाइलीले बताउनुभयो । ‘पहिला गाउँका धेरै दिदीबहिनीले सुत्केरी हुन नसकेर ज्यान गुमाए’ रसाइलीले भन्नुभयो, ‘गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि धेरै आमाहरूले नयाँ जीवन पाएका छन् ।’ 

एकाइको तथ्याङ्कअनुसार तीन वर्षदेखि यहाँ होम डेलीभरी समेत छैन । आर्थिक वर्ष २०७८–७९ मा यहाँ ९ जनाको सुरक्षित सुत्केरी गराइएको थियो । आर्थिक वर्ष २०७९–८० मा १० जना र गत आर्थिक वर्ष १२ जनाले सुत्केरी सेवा लिएको एकाइका अहेब कुँवरले जानकारी दिनुभयो ।