• १३ साउन २०८१, आइतबार

हावाहुरीले केरा खेतीमा दुई लाख बढीको क्षति

blog

गढवा गाउँपालिका–३ खैरेनीमा हावाका कारण ढलेका रातो केराका बोटहरु । तस्विर : लीलाधर वली

लीलाधर वली 

घोराही, असार ४ गते । दाङमा हावाले केराका बोटहरू ढलाउँदा करिब दुई लाख बढीको क्षति भएको छ । दाङको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीमा हावाहुरीका कारण तीन दिनको अवधिमा डेढ सय बढी केराका बोट ढल्दा दुई लाख बढीको क्षति भएको हो । 

जेठ ३१ गतेदेखि असारको १ गतेसम्म तीन दिनको अवधिमा गढवा गाउँपालिका वडा नं. ३ खैरेनीस्थित एम.डी.टि.आर. कृषि फर्ममा रोपिएका डेढ सय बढी केराका बोटहरू ढलेको कृषि फर्मका सञ्चालक डिल्लीबहादुर रावतले जानकारी दिनुभयो । 

सञ्चालक रावतका अनुसार आठ कट्ठा क्षेत्रमा रोपेका बिरुवाहरूमध्ये फल लागेका र फल्न सुरु गरेका करिब एक सय ५० बढी बोटहरू हावाले ढालेको बताउनुभयो । सञ्चालक रावतले भन्नुभयो, "गर्मी मौसममा केराका लागि पानीको आवश्यकता पर्छ । तर डिपबोरिङ बिग्रिएका कारण सिचाई गर्न सकिएन । जसले गर्दा केराका बोटमा किरा लाग्दा हावा चल्यो भने बोट ढल्छन् । किरा लाग्न नदिनका लागि औषधि गर्दा समेत काम लागेको छैन ।" 

तीन वर्षअघि पाँच लाख रुपियाँ खर्च गरेर जिल्लामै पहिलो पटक चितवनबाट बिरुवा ल्याएर रातो केराको व्यावसायिक खेती सुरु गर्नुभएका रावतले राम्रो उत्पादनसँगै विक्री हुने गरेपनि केराका बोटहरू नै बचाउन समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, "पहिलो लटमा रोपेका एक सयमध्येका बिरुवाहरू फल्न सुरु गरेका छन् । विक्री पनि राम्रो भइरहेको थियो तर हावाले बिरुवा ढालेपछि ठुलो क्षति भएको छ ।" 

रावतले तीन कट्ठा आफ्नो र पाँच कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रातो केराको व्यावसायिक खेती गर्दै आउनुभएको छ । राम्रो उत्पादन भएको र अन्य केराको तुलनामा मूल्य पनि राम्रो भएका कारण आम्दानी राम्रो रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, "एक बिरुवामा पाँचदेखि छ दर्जनसम्म केराहरू फल्ने गरेका छन् । विक्रीमा पनि समस्या छैन ।" जिल्लामा रातो केरा एक सय ८० रुपियाँ दर्जन विक्री हुने गरेको उहाँ बताउनुहुन्छ । 

सञ्चालक रावतका अनुसार अब फर्ममा करिब डेढ सय बिरुवाहरू बचेको छ । व्यावसायिक केरा खेतीसँगै तरकारी खेती समेत गर्दै आउनुभएका रावतले कृषि व्यवसायबाट राम्रो आमदानी गर्दै आउनुभएको छ ।