• १२ असार २०८१, बुधबार

आँप बगैँचामा तस्करीका काठ

blog

महोत्तरीको गौशाला नपा १० स्थित आँप बगैँचाबाट बरामद काठ । तस्विरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असार ४ गते । गौशाला नगरपालिका -१० स्थित आँप बगैँचा भित्र लुकाई छिपाई राखेको अवस्थामा वन कर्मचारीले चोरी तस्करीका काठ नियन्त्रणमा लिएको छ । वन कर्मचारीको रात्रिकालीन गस्तीले स्थानीय तिलक पासवानको आँप बगैँचाबाट सात थान साखु जातको गोलिया बरामद गरेको हो । 

स्थानीयले दिएको सूचनाको आधारमा सब डिभिजन वन कार्यालय लक्ष्मिनीयाका प्रमुख रामअसिष यादव, सशस्त्र वन रक्षक, सागरनाथ वन विकाश परियोजनाका चौकीदार तथा नेपाल प्रहरी सहितको संयुक्त गस्तीले राती करिब १० बजेतिर उक्त काठ बरामद गरेको कार्यालयले जनाएको छ । 

ती काठ कहाँको वनबाट चोरी गरी उक्त आँप बगैँचामा कहिले लुकाइएको हो स्पष्ट हुन सकेको छैन ।  तर घटनास्थलको प्राकृतिक अवस्था हेर्दा काठ एक डेढ महिना अगि नै उक्त बगैँचामा लुकाइएको सब डिभिजन वन प्रमुख यादवको अनुमान छ । उहाँकाअनुसार काठ राखिएको ठाउँसम्म ट्याक्टरको चक्काको डोब देखिन्छ । ‘तर ती डोब मेटिन लागेका र घाँस उम्रँदै गरेको आधारमा काठ महिना दिनअघि नै बगैँचामा लुकाइएको अनुमान गरिएको हो’ उहाँले बताउनुभयो । 

उक्त काठ तस्करीबारे थप प्रमाण जुटाउने काम भइरहेको छ भने बगैँचा धनी तिलक पासवानसँग पनि सोधपुछको तयारी भइरहेको सब डिभिजन वन कार्यालय लक्ष्मिीनियाले जनाएको छ । बरामद काठ राती नै सब डिभिजन वन कार्यालय लक्ष्मिीनियामा ल्याई घाट गद्दी गरी सघन अनुसन्धान भइरहेको यादवले जनाउनुभयो ।