काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोग भ्रष्टाचारमुक्त समाज निर्माणका लागि काम गरिरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन गर्नु आयोगको मुख्य दायित्व रहेको बताउनुभयो । उहाँले यसका लागि आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले सार्वजनिक सेवामा जनताको सरल र सहज पहुँच स्थापित गरी भ्रष्टाचार न्यूनीकरणको लक्ष्य हासिल गर्न निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक विधि अपनाइएको जानकारी दिनुभयो । प्रमुख आयुक्त राईले आयोग मुलुकको विकास निर्माण तथा आयोजना व्यवस्थापनमा बाधक नभएको भन्दै विकास निर्माणमा गुणस्तर कायम गर्न सहयोग पु-याउन आफूहरू क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
उहाँले सार्वजनिक जग्गा अतिक्रमण, सरकारी बजेट हिनामिना र राजस्व असुलीमा भ्रष्टाचार गर्ने तथा घुस लिनेलगायतका प्रवृत्ति नियन्त्रण गर्न आयोग कटिबद्ध रहेको बताउनुभयो । प्रमुख आयुक्त राईले भन्नुभयो, “संवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न आयोग केन्द्रित छ ।” उहाँले संस्थागत जिम्मेवारी पूरा गर्नेक्रममा आयोगले कसैप्रति पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयो ।