काठमाडौं, असार ३ गते । आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल आज (आइतबार) घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको छ ।
जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । नेपालले २८ ओभरमा विना विकेटको क्षति एक सय ५४ रन बनाएको छ ।
क्रिजमा ओपनर आसिफ शेख र कुभल भुर्तेल जमिरहनुभएको छ । कुशलले ६६ र आशिफले ४१ रन बनाउनुभएको छ । नेपाल आज मान्यता प्राप्त घरेलु टोली जिम्बावेलाई हराउने लक्ष्यमा छ ।
जिम्बावेविरुद्ध आजको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो । नेपालले जिम्बावेसँग यसअघि एउटा मात्र ५० ओभरको खेल खेलेको छ ।
सन् २०१८ मा जिम्बावेमै खेलिएको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिबेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट ‘ए’ मान्यताको खेल भएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स छ ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।
भारतमा हुने विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।
जिम्बावेविरुद्ध नेपाल-११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।