तम्घास समाचारदाता
तम्घास, असार ३ गते । यहाँको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले एक कार्यक्रमका बिच हाम्रो मालिका नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो। गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा स्थानीय वेशभूषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातजाति अनुसारको भाषाभाषी, जडीबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सिपसँगै जीविकोपार्जन र दैनिक जीवनमा प्रयोगमा आइरहने तमसुक, भर्पाई लेखन जस्ता विषयवस्तुलाई समेटिएर पाठ्यक्रमको मस्यौदा तयार गरिएको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।
वर्तमान समयमा अध्ययन गर्ने विद्यार्थीले स्थानीय रूपमा प्रचलनमा रहेका वेशभूषा, भाषाभाषी र वस्तुसमेत चिन्न र जान्न छाडिसकेकाले स्थानीय पाठ्यक्रम निर्माण गरिएको प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिनुभयो।
पाठ्यक्रम र पाठ्यपुस्तक बिचको तालमेल मिलाई पाठ्यक्रम अनुसारको पाठ्यपुस्तकमा भूगोल, क्षेत्र, पर्यटकीय स्थल र परम्परालाई सहज र सरल रूपमा अध्ययन गर्न सक्ने गरी निर्माण गरिएको शिक्षा शाखाले जनाएको छ। सोही कार्यक्रममा पाठ्यपुस्तक लेखनमा योगदान गर्नेलाई सम्मानसमेत गरिएको थियो। धुर्कोट गाउँपालिकाले २०७७ सालदेखि नै कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको बताउनुभयो।
हालसम्म आफूले पाँच वटा स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागु गर्नेबारेमा अनुभव आदानप्रदान गरेको भन्दै स्थानीय पाठ्यक्रमले स्थानीयस्तरका विषयवस्तुलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
मालिका गाउँपालिकाभित्र ५३ वटा सामुदायिक सात वटा निजीसहित ६० वटा विद्यालय रहेका छन्। जुन विद्यालयहरूमा सात हजार विद्यार्थीले अध्ययन गर्ने गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।