• १३ साउन २०८१, आइतबार

एकै पटक छ वर्षको साधारण सभा सम्पन्न

blog

काठमाडौँ, असार ३ गते । पूर्ण सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनीले एकै पटक छ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साबिकको राष्ट्रिय बिमा संस्थानको तीन वर्षको र राष्ट्रिय बिमा कम्पनीको तीन वर्षको गरी छ आवको साधारण सभा एकै पटक सम्पन्न गरेको हो ।

राष्ट्रिय बिमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान, निर्जीवन बिमा विभाग) ले आफ्नो ३१ औँ वार्षिक साधारण सभा र राष्ट्रिय बिमा कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा सम्पन्न साधारण सभाले साबिकको राष्ट्रिय बिमा संस्थानको आव २०६८/६९, आव २०६९/७० र आव २०७०/७१ सम्म गरी तीन वर्षको र राष्ट्रिय बिमा कम्पनीको आव २०७०/७१, आव २०७१/७२ र आव २०७२/७३ सम्म गरी तीन वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको हो ।

साथै महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आव २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गरेको छ । जसको पारिश्रमिक प्रतिवर्ष पाँच लाख रुपियाँ छ ।

त्यस्तै सभाले रिक्त रहेको सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ । उहाँ सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालकमा निर्वाचित हुनुभएको हो । धितोपत्र दोस्रो बजारमा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै रहेको छ । सरकारी स्वामित्वको निर्जीवन बिमा व्यवसाय गर्ने उक्त कम्पनीको धितोपत्र दोस्रो बजारमा १२ हजार सात सय रुपियाँ सेयर मूल्य रहेको छ ।