• १३ साउन २०८१, आइतबार

आन्तरिक राजस्व गत वर्षकै हाराहारीमा

blog

काठमाडौँ, असार ३ गते । अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ । आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । 

गत आवको सोही अवधिको तुलनामा यो एक अर्ब ७८ करोड रुपियाँले मात्र न्यून हो । २०७९ जेठसम्म चार खर्ब १० अर्ब ४३ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । ब्याज करमा भएको वृद्धिका कारण आन्तरिक राजस्व सङ्कलनमा सुधार आएको विभागको तथ्याङ्कले देखाउँछ । एक वर्षको अन्तरमा ब्याज करमा आठ अर्ब रुपियाँभन्दा बढीको वृद्धि देखिन्छ । 

२०७९ जेठसम्म २३ अर्ब ३७ करोड रुपियाँ ब्याज कर सङ्कलन भएकामा चालु आर्वको सोही महिनासम्म ३१ अर्ब ४४ करोड रुपियाँ ब्याज कर सङ्कलन भएको विभागले जनाएको छ । 

विभागका अनुसार आयकर भने गत आवको तुलनामा घटेको छ । गत जेठसम्म एक खर्ब ८२ अर्ब २३ करोड रुपियाँ आयकर सङ्कलन भएकामा चालु आवमा भने एक खर्ब ७० अर्ब ४२ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । त्यसपछि सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर ९९ अर्ब ४१ करोड रुपियाँ सङ्कलन भएको छ जुन गत जेठसम्म एक खर्ब ७८ करोड रुपियाँ सङ्कलन भएको थियो । अन्तःशुल्क सङ्कलन भने केही बढेको छ । गत जेठसम्म ९४ अर्ब ७४ करोड रुपियाँ अन्तःशुल्क सङ्कलन भएकामा यस वर्ष जेठसम्म ९६ अर्ब ९० करोड रुपियाँ सङ्कलन भएको छ । 

यसबाहेक विभागले जेठसम्म दुई अर्ब ३९ करोड रुपियाँ घर बहाल कर सङ्कलन गरेको छ । गत जेठसम्म यो शीर्षकमा दुई अर्ब ४३ करोड रुपियाँ घर बहाल कर सङ्कलन भएको थियो । स्वास्थ्य सेवा कर भने चालु आवमा बढेको छ । विभागका अनुसार समीक्षा अवधिसम्म छ अर्ब ३८ करोड रुपियाँ स्वास्थ्य सेवा कर सङ्कलन भएको छ, जुन गत आवको जेठसम्म पाँच अर्ब ८१ करोड रुपियाँमा मात्र सङ्कलन भएको थियो । शिक्षा कर सङ्कलनमा पनि सुधार देखिएको छ । अघिल्लो वर्षको तुलनामा ६२ करोड रुपियाँ बढेर समीक्षा अवधिसम्म एक अर्ब ६६ करोड रुपियाँ शिक्षा कर सङ्कलन भएको विभागले जनाएको छ । 

मासिक सङ्कलन पाँच अर्ब बढ्यो

जेठ महिनामा मात्रै विभागले करिब ३७ अर्ब रुपियाँ कर सङ्कलन गरेको छ, जुन २०७९ जेठको मात्र तुलनामा करिब पाँच अर्ब रुपियाँले बढी हो । अघिल्लो जेठमा विभागले ३२ अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो । जेठमा सबैभन्दा धेरै १२ अर्ब ७८ करोड रुपियाँ अन्तःशुल्क उठेको छ । त्यसपछि ११ अर्ब ३४ करोड रुपियाँ आयकर, १० अर्ब ७१ करोड रुपियाँ मूल्य अभिवृद्धि कर सङ्कलन भएको विभागले जनाएको छ ।