• १३ असोज २०८१, आइतबार

फुङ्लिङ बजारमा धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता

blog

फुङ्लिङ बजारमा धमिलो आउन थालेपछि स्थानीय मुहानका धारामा लागेको उपभोक्ताको भीड।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका बासिन्दा हिजोआज धमिलो पानी उपभोग गर्न बाध्य बनेका छन्। निरन्तरको वर्षाका कारण फुङ्लिङ बजारमा सञ्चालनमा रहेको देवीखोला खानेपानी योजनाको पानी धमिलो आउन थालेपछि यहाँका बासिन्दा सोही पानी उपभोग गर्न बाध्य बनेका हुन्।

देवीखोला खानेपानी योजनाको मुहान व्यवस्थित नहुनुका साथै पानी फिल्टर (शुद्धीकरण) गर्ने प्रविधि नहुँदा फुङ्लिङका बासिन्दाले धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको छ। प्रत्येक वर्ष बर्खा मौसममा धमिलो पानी उपभोग गर्नुपर्ने अवस्था रहँदै आएको स्थानीय उपभोक्ता बताउँछन्। 

यसवर्ष पनि तीन/चार दिन अघिदेखि निरन्तर वर्षा भइरहेको र वर्षा सुरु भएसँगै बजारमा वितरण गरिएको मिटरवाला पानी धमिलो आउन थालेको फुङ्लिङ नगरपालिका–५ का उपभोक्ता विक्रम लिम्बूले जानकारी दिनुभयो। लिम्बूका अनुसार मिटरको पानी धमिलो आउन थालेपछि बजारभित्र रहेका मुहान तथा धारामा उपभोक्ताको भीड लाग्ने गरेको छ। अरू विकल्प नभएपछि बजारका अधिकांशले भने धमिलो पानी नै उपभोग गर्दै आएको उहाँ बताउनुहुन्छ।

हिजोआज बजार क्षेत्रमा रहेका बालमन्दिर जिमीपोखरी धारा, कोप्चे धारा, वीरेन्द्रचौकको सरस्वतीकुण्ड धारा, बिहीबारे, बुद्धचौक लगायतका स्थानमा रहेका मुहान तथा धारामा सफा र स्वच्छ पानी भर्ने उपभोक्ताको भीड लाग्ने गरेको छ। बिहान सबेरैदेखि र राति अबेरसम्म नै स्थानीय मुहानका धारामा सर्वसाधारणको भीड लाग्ने गरेको बताइएको छ। 

गाग्री, ग्यालेन, बोतलजस्ता पानी भर्ने भाँडाकासाथ उपभोक्ता लाइनमा बसेर मुहानवाला धाराको पानी भर्ने गरेका छन्। मुहानभन्दा टाढाका केही उपभोक्तासमेत पिकअप भ्यानमार्फत ठूला–ठूला भाँडामा धाराको पानी भरेर उपभोग गर्न थालेका छन्। यसवर्ष मात्र नभई फुङ्लिङ बजारमा बर्खा मौसमका बेला खानेपानीको समस्या विगतदेखिकै नियति भएको स्थानीय बताउँछन्।

खानेपानी मुहानलाई व्यवस्थित गर्ने र शुद्धीकरण (फिल्टर) गर्ने प्रविधिका लागि जिल्लाबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीमार्फत निरन्तर पहल भए पनि हालसम्म कुनै पनि योजना अर्थात् बजेट व्यवस्था नभएको स्थानीयको भनाइ छ। बर्खा मौसममा ठुलो झरी वा वर्षा हुने बित्तिकै बजारमा आउने पानीको मुहानमा भल पस्ने हुँदा पानी धमिलो र प्रदूषित हुने गरेको छ। यता धमिलो पानी उपभोगले मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने स्वास्थ्यकर्मी बताउँछन्।