• १३ असोज २०८१, आइतबार

हावाहुरीले घरको छानो उडाउँदा पाँच परिवार विस्थापित

blog

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ मा राहत वितरण गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, असार २ गते । 
सुनसरीको इनरुवा नगरपालिका –९ र १० का स्थानीयहरूको घरको छानो हावाहुरीले उडाएपछि पाँच परिवार तीन दिनदेखि खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । बुधबार र बिहीबारको चलेको हावाहुरीले पाँच परिवारका १० वटा घरको छानो उडाएपछि पीडित परिवार खुल्ला आकाशमुनि बस्न बाध्य भएका हुन् ।

इनरुवा–९ का सुकरु सदा, फुदन ठाकुर, पार्वती खत्वे, इनरुवा १० का बेचु मियाँ र इसाक मियाँसहितको घरको फुस र जस्तापाताको छानो उडाएपछि खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । यता स्थानीय सरकारले बेवास्ता गरेको भन्दै पीडित परिवार आक्रोशित भएका छन् ।

यसैबीच गाउँका युवा र शिक्षक, बुद्धिजीवीहरूले परिवर्तन नेपालको पहलमा राहत वितरण गरेको छ । हावाहुरीले खुल्ला आकाशमुनि बस्न बाध्य भएका तथा बिचल्लीमा परेका बबिया र जल्पापुरका पाँच पीडित परिवारलाई प्रतिपरिवार चामल २५ केजी, भुजा १ बोरा, आलु १० केजी, पिठो दुई केजी, चाउचाउ एक कार्टुन, चिउरा दुई केजी, खाने तेल एक लिटर, दाल एक केजी, साबुन (लुगा धुने+नुहाउने) र पाँच सय रुपियाँ नगद सहयोग उपलब्ध गराएको छ । 

यो सहयोग समाजेसी दिलिपचन्द साहु, वीरेन्द्र साह, शिक्षक देवकृष्ण यादव, अनिल पोखरेल, प्रमोद पोखरेलसहित विभिन्न सहयोगीमनहरुबाट सङ्कलन गरेर वितरण गरिएको हो । स्थानीय युवा समाजसेवी रामकुमार यादवले पीडित परिवारलाई घर निर्माणका साथै गाँस र कपास व्यवस्थापनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, किसान सत्यनारायण मण्डलले दुई बिघा जग्गा भाडामा लिएर केरा खेती गर्दै आएको र आफ्नो निजी समेत दुई बिघामा व्यावसायिक केरा लगाएकोमा बेसरी चलेको हावाहुरीले सबै केरा सखाप पारेपछि चिन्तित बनेको सुनाउनुभयो । उहाँले लाखौँको लगानी गरेको केरा खेती केही मिनेटको हावाहुरीले सखाप पारेपछि बारीमा समेत जान नसक्ने अवस्था भएको गुनासो गर्नुभयो ।

त्यस्तै, इनरुवा ९ बबियाका किसान जसलाल यादवको पनि १० कठ्ठाको केराबालीमा क्षति भएको छ । यादवले पनि कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताउनुभयो ।