• ६ जेठ २०८१, आइतबार

ठगी आरोपमा वडा अध्यक्ष पक्राउ

blog

अविनाश चौधरी

धनगढी, जेठ ३२ गते । कैलाली प्रहरीले ठगीको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका –४ का वडा अध्यक्ष कृष्णसिंह धामीलाई पक्राउ गरेको छ । कैलालीका टेक कुँवरको उजुरीको आधारमा प्रहरीले गोदावरी नगरपालिकाको अत्तरियाबाट धामीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरीले टोलीले उहाँलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका वडा अध्यक्ष धामीमाथि ३४ लाख रुपियाँ चेक बाउन्सको आरोप लागेको प्रहरीले जनाएको छ ।  

पक्राउ परेका वडा अध्यक्ष धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा नै राखेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनुभयो । उहाँका अनुसार धामीलाई जेठ २५ गते नै पक्राउ र म्याद थप गरेर आवश्यक अनुसन्धानको कार्य भइरहेको छ । 

प्रहरीका अनुसार वडा अध्यक्ष धामीले कुँवरलाई आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैङ्कको ३४ लाखको चेक दिनु भएको थियो । तर खातामा रकम थिएन । 

बैङ्क खातामा रकम नभई चेक बाउन्स भएपछि कुँवरले गत फागुनमा नै इलाका प्रहरी कार्यालय मालाखेतीमा धामीविरुद्ध ठगीको उजुरी दिनुभएको थियो । पक्राउ परेका धामी नेकपा (एमाले) बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।