• १३ साउन २०८१, आइतबार

सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक : सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे ।

काठमाडौं, जेठ ३२ गते । सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करणको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले अहिले संसद् चालु रहेकाले सरकारले छिटो ढङ्गबाट सङ्घीय शिक्षा ऐन ल्याउने आशा गरेको बताउनुभयो । सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने जानकारी दिनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘देशको राजनीति जस्तो हुन्छ, मूलतः शिक्षाको अवस्था पनि त्यस्तै हुँदै जान्छ । शिक्षाले देश विकास गर्नसक्छ । विदेशबाट पनि ज्ञान आर्जन गर्नका लागि नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ । नेपालको शिक्षाले विदेशी विद्यार्थीहरूलाई तान्न सक्छ । यसबाट नै हामीले प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर त्यसअनुसार आज अघि बढ्न सकिरहेका छैनौँ । पढेलेखेका विद्यार्थीहरू देशमा राम्रोसँग अघि बढ्न सकेका छैनन्, एसइई दिइसकेपछि विदेशका लागि प्रयास गर्ने क्रम बढिरहेको छ । यस खालका मेलाले शिक्षाको आवश्यकता बुझाउन सकेको छ । स्वदेशमा कसरी व्यवहारिक ढङ्गबाट प्राविधिक शिक्षाहरू अध्ययन गर्न सकिन्छ भन्नेकुरा यस मेलाले बुझाउँछ ।’’ 

उहाँले देशमै विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरू महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आए पनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन् । परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोसिस गरेका छन् । तर सफल हुन सकेका छैनन् । यी ऐन ल्याउन चुनौती जस्तो देखिएको छ । ऐन ल्याउन अहिले संसद् चलिरहेको छ, छिटो ढङ्गबाट आउन सकोस् ।’’

बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला सुरु भएको हो । एसइई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।