• २३ वैशाख २०८१, आइतबार

नयाँ वर्ष पर्वको उत्साह (कथा)

blog

वैशाख १ गते नेपालीहरूको नयाँ वर्ष हो । नयाँ वर्षमा शुभकामना दिने चलन छ । म पनि मेरो साथीभाइ, आफन्त, इष्टमित्रलाई नयाँ वर्षको शुभकामना दिन्छु । वार्षिक परीक्षा सकिएर छुट्टीको समय हुन्छ । छुट्टीको समयमा म नयाँ वर्ष मनाउन गाउँ जान्छु । थारू समुदायले नयाँ वर्ष सिरुवा पर्वका रूपमा धूमधामका साथ मनाउँछन् । सिरुवा पर्व वर्षको सुरुवाती दिन पर्ने हुनाले सिरुवा पर्व भन्ने गरेको हो । सिरुवा पर्वमा ठूलाले सानालाई शुद्ध जल शिरमा (टाउकोमा) छर्किदिएर जुरशीतल जुरशीतल, जुग–जुग जिहे भनी आशीर्वाद दिन्छन् । म पनि प्रत्येक नयाँ वर्षमा आफूभन्दा ठूलाबाट आशीर्वाद थाप्छु ।  सिरुवा पर्वमा गाउँमा एकदमै रमाइलो हुन्छ ।

नयाँ वर्षमा दुःख, बिमार, रोगव्याधी नलागोस् भन्ने कामना गर्दै थारू समुदायमा बहरजत्रा पूजा गर्ने चलन छ । बहरजात्रा भनेको शुभ चिताउने पूजा हो । यो पूजा नयाँ वर्षको अघिल्लो दिन वा चैत महिनाको मसान्तको दिन सूर्यास्त भइसकेपछि गाउँका सबै भेला भएर गाउँ बाहिर बहरजत्रा पूजा गरी नयाँ वर्ष शुभ होस् भनी कामना गर्दै पूजा समापन गरी प्रसादी सबैले बाँडेर खान्छन् ।  

नयाँ वर्षलाई थारू भाषामा चैतके निन्हल वैशाख भनी चैतमा पकाएको परिकार वैशाखमा खाने परम्परा छ । चैत महिनाको मसान्तको दिन मिठा मिठा परिकार तेलपौर रोटी, घुरमालो रोटी, खबौनी रोटी, बरी, बरीझोरी, कच्री, बजका, बैगनी, फुलौरी, पुरी, पुरुक्या आदि पकाएर नयाँ वर्ष, वैशाख १ गतेको दिन खाने चलन भएकाले चैतके निन्हल वैशाख भनिएको हो । जान लागेको वर्षको चैत महिनाको अन्तिम दिन पकाएर नयाँ वर्षको दिन वैशाख १ गते खाँदा परिवारमा वर्षभरि खान पुग्छ, भोकमरी लाग्दैन वा वर्षभरि अन्नको परिपूर्णता रहन्छ भन्ने जनविश्वास थारू समुदायमा रहेको छ । 

नयाँ वर्ष (सिरुवा पर्व)को दिन शिराथान, थानपोखरी, फुलवाइर सलहेश, शम्भुनाथ आदि देवस्थलमा ठूलो मेला लाग्छ । भाकल हुनेहरूले भान्टा, परेवा, कुखुरा, हाँस चढाउँछन् भने भाकल नहुनेहरूले लड्डु, पान, सुपारी, जल चढाउँछन् । यस दिन ग्रामथान (गाउँका देउता)को पुजारीले खीर प्रसादीका रूपमा पूजा गरी चढाउँछन् । पहिला पहिला सिरुवा मेला भर्न जाँदा थारूहरू बयल गाडा चढेर जाने गर्थे भने अहिले सवारीसाधनको सुविधा भएको हुनाले सवारीसाधन चढेर जाने गर्छन् ।