• १३ साउन २०८१, आइतबार

मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

blog

नवनियुक्त मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल

काठमाडौँ, जेठ ३२ गते । नेपाल सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल  नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्छ । अर्थविदसमेत रहनुभएका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । 

वि.सं. २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका डा. अर्याल सचिवमा बढुवा भएसँगै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसक्नु भएको छ । 

गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएका अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्नुहुन्थ्यो । 

अर्यालको पाँच वर्षे सचिवको कार्यकाल असार ३ गते पूरा हुने थियो । यता वर्तमान मुख्यसचिव सङ्करदास वैरागीको मुख्यसचिवको कार्यकाल भने आगामी असोज मसान्तसम्म रहेको थियो । 

यसैबीच, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व  मुख्य सचिव शङ्करदास वैरागीलाई  राष्ट्रिय  सुरक्षा  परिषद्को  सल्लाहकार पदमा नियुक्त गरी शपथसमेत गराउनु भएको छ ।