• २७ वैशाख २०८१, बिहिबार

पुर्ख्यौली थलो दहगाउँ आउँदा निकै खुसी लागेको छ : प्रधानमन्त्री प्रचण्ड

blog

दैलेखको दुल्लु –१२ को दह गाउँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, जेठ ३१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पुर्ख्यौली थलो दहगाउँ आएर प्रतिमा अनावरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभएको छ । दैलेखको दुल्लु नगरपालिका –१२ दह गाउँमा कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

वत्स गोत्रीय दाहाल, लम्साल, रुपाखेती, कुँवर, राणा परिवारका आदिपुरुष कुल शिरोमणि दासुको सालिक (प्रतिमा) अनावरण गर्न प्रधानमन्त्री प्रचण्ड पुर्ख्यौली गाउँ दह आज आइपुग्नुभएको हो । 

आफ्नो बुबाले आफ्नो पुर्ख्यौली थलो पश्चिम रहेको बताए पनि जुम्लाको दह वा दैलेखको दह कहाँ हो भन्ने अन्योल भएका बेला दह गाउँमा आफूहरूको पुर्ख्यौली थलो भएको पुष्टि भएपछि खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, “दह गाउँको मात्र विकास नभएर समग्र दैलेखको र पञ्चकोशी क्षेत्रको विकासका लागि सहयोग गर्नेछु ।” 


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वत्स गोत्रीय दाहाल, लम्साल, रुपाखेती, कुँवर, राणा परिवारका आदिपुरुष कुल शिरोमणि दासुको सालिक अनावरण गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय 

प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेको प्राकृतिक सम्पदा र पर्यटन विकासले मात्रै देशमा समृद्धि ल्याउने बताउँदै त्यसआधारमा भारत सरकारसँग विद्युत खरिद सम्झौता गरिएको जानकारी दिनुभयो । 

उहाँले देशले आर्थिक सङ्कट भोगिरहेका बेला आफू प्रधानमन्त्री भएको बताउँदै देशको आर्थिक अवस्था बिस्तारै सुधार हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक सङ्कटलाई समाधान गर्न, छिमेकीसँगको सम्बन्धलाई बलियो बनाउने, सुशासन कायम गर्ने मेरो लक्ष्य छ ।”

राष्ट्रिय एकताका लागि सबै जातजातिको भूमिका महत्त्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । प्रधानमन्त्रीलाई कूल शिरोमणि स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दैलेखमा अभिनन्दनसमेत गरेको छ ।


बत्सगोत्रीय बन्धुहरूको तर्फबाट बोल्दै प्रतिनिधि सभाका निवर्तमान सांसद रबिन्द्रराज शर्माले कर्णालीको विकासका लागि प्रधानमन्त्रीले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण, नेपालगञ्ज हुँदै नाग्चेनाग्लासम्म जोड्ने त्रिदेशीय सडक, पञ्चकोशी क्षेत्रको गुरुयोजनाअनुसार विकास गरी दैलेखलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ध्यान दिनुपर्ने जाेडदिनुभयाे । 

प्रधानमन्त्री प्रचण्डले दैलेखको शिरस्थानमा उत्खनन् गर्न लागिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि भएका कामको प्रगति र त्यसको हवाई अवलोकन समेत गर्नुभयो ।