• १३ साउन २०८१, आइतबार

गर्मी छल्न पोखरामा भारतीय पर्यटक

blog

सन्तोष सुवेदी

कास्की, जेठ ३१ गते । अहिले पोखराको तापक्रमले ३६ डिग्री सेल्सियसको रेकर्ड बनाएको छ। सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो। ४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो। पोखरेलीलाई गर्मीले हैरानी बनाउँदा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ। 

भारतीय पर्यटक यतिखेर पोखरा आउने क्रम बढेको छ। कोरोनापछि भित्रिएका भारतीय पर्यटकको लर्कोले पर्यटन व्यवसायीलाई आशा पलाएको छ। पश्चिमाञ्चाल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय पर्यटकको चहलपहलले उत्साह थपेको बताउनुभयो। 

“यतिखेर भारतमा बढी गर्मी हुँदा भारतीय पर्यटक नेपाल आउने गर्छन्।” उहाँले भन्नुभयो, “गर्मी छल्नका लागि एक महिना असारसम्म भारतीय पर्यटक पोखरामा रहने छन्।” उहाँका अनुसार अहिले भारतीय पर्यटकले गर्दा २५ प्रतिशतभन्दा बढी अकुपेन्सी हुँदै आएको छ। उहाँले हरेक वर्ष गर्दै आएको ‘चलिए पोखरा’ कार्यक्रमलाई यो पटक निरन्तरता दिने बताउनुभयो। उहाँले भन्नुभयो, “चलिए पोखरा कार्यक्रम जति सक्दो चाँडो गर्दै छौँ। भारतीय बजारमा पुगेर बोर्डर सिटी प्रवर्धनको तयारीमा छौँ।”  

भारतको विहारबाट आएका धेरै पर्यटक पोखरामा भेटिन्छन्। सडकमा छ्यापछ्याप्ती भारतीय सवारीसाधन गुडिरहेको छ। पोखराको लेक साइड, तालवाराही मन्दिर, पामे, पाताले छाँगो, गुप्तेश्वर महादेव गुफा, सराङकोट, विश्व शान्ति स्तूप, पुम्दीकोटको विशाल महादेवको  मूर्तिलगायत पोखरा आसपासका गन्तव्य भारतीय पर्यटकले भरिभराउ छ। 

पोखरा घुम्न आएका अधिकांश पर्यटक पर्वत, कुस्मा, बेनी हुँदै मुक्तिनाथसम्म पनि उक्लिरहेका छन्। चीन सरकारले लगाएको भ्रमण प्रतिबन्ध हटेसँगै छिटफुट चिनियाँ पर्यटक भित्रिरहेका छन्। पोखरामा चिनियाँ पर्यटकको सङ्ख्या पनि छिटफुट देखिन थालेको सुवेदीले बताउनुभयो। उहाँले भन्नुभयो “असारमा हुने नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभल’ का लागि पनि चाइनिज पर्यटक बढी आउने अनुमान छ।” बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो। 

फेस्टिभलको अवसर पारेर चार्टर उडानमार्फत पोखरा ओर्लेका चिनियाँ पाहुनालाई यहाँका होटलका कोठामा ५० र रेस्टुरेन्टमा १५ प्रतिशत छुट दिने तयारी रहेको पनि परिषद् उहाँले जानकारी दिनुभयो। डुङ्गा चढेर तालबाराहीको दर्शन गर्नेको सङ्ख्या पनि बढेको डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बलराम गिरीले बताउनुभयो। उहाँले भन्नुभयो, “भारतीय पर्यटकको आगमन राम्रो छ। गु्रप गु्रपमा आउने गर्नुहुन्छ। यहाँ सञ्चालित आठ वटा घाटबाट दैनिक रूपमा तीन सयको हाराहारीमा भारतीय पर्यटक वाराही मन्दिर दर्शन गर्न जाने अनुमान गरेका छौँ।”