सुजन काफ्ले
चरीकोट, जेठ ३० गते । दोलखाको कालिन्चोक गाउँपालिका – ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सो भवनको उद्घाटन गर्नुभएको हो । अध्यक्ष शिवाकोटीले आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि वडावासीले राम्रो सेवासुविधा पाउने बताउनुभएको छ ।
उहाँका अनुसार वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउँदै स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष शिवाकोटीले पहिलेका जनप्रतिनिधिले अलपत्र पारेर छोडेका अधुरा कामलाई आफूले पूरा गर्दै गएको बताउनुभयो । पालिकाले आठ वटा वडाको भवन निर्माण सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।
पालिकाको स्थायी केन्द्र तोक्ने काम पनि चाँडै टुङ्गोमा पुर्याउने बताउँदै शिवाकोटीले पालिकाको केन्द्र टुङ्गो लगाउन ढिलाइ भएपनि सेवा प्रवाहमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने बताउनुभयो ।
तीन जना स्थानीयले वडा कार्यालय राख्न जग्गा दान दिएपछि वडा कार्यालय भवन निर्माण गरिएको वडा अध्यक्ष दीपक खुलालले बताउनुभयो । करिब छ वर्षदेखि एउटा कोठामा अस्थायी वडा कार्यालय राखेर सेवा दिँदै आएको वडाले अहिले आफ्नै नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने खुलालको भनाइ छ ।
स्थानीय जग्गादाताहरू होमप्रसाद घिमिरे, भवानीप्रसाद घिमिरेले र ज्ञानबहादुर गजमेरले दान गरेको दुई रोपनी चार आना जग्गा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको ४० लाख रुपियाँमा एक तले भवन निर्माण गरिएको छ । गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर–८ का वडाध्यक्ष सूर्यबहादुर आचार्यले वडाको विकासमा जनताले गरेको योगदानको प्रशंसा गर्दै जनताले सरल र सहज रूपमा सेवा प्रदान गर्न निरन्तर लागिरहने बताउनुभयो । गाउँपालिकाले स्थायी केन्द्र तोक्न नसक्दा अस्थायी केन्द्र सुनखानीबाटै सेवा प्रदान गरिरहेको छ ।