• १३ साउन २०८१, आइतबार

राष्ट्रिय कविता महोत्सवमा कविहरूको आकर्षण

blog

कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यालय । फाइल तस्बिर

 काठमाडौँ, जेठ २९ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिनको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको  छ ।

यस पटक राष्ट्रिय कविता महोत्सवका लागि इमेलबाट ८४८वटा कविता प्राप्त भए भने प्रत्यक्ष ४४ वटा कविता दर्ता भएका छन् । यी दुवै माध्यमबाट ८९२वटा कविता राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त हुन आएको देखिन्छ । तर कतिपय कविहरूले  एउटै कवितालाई  दोहोर्‍याएर  र तेहर्‍याएर  पठाएकाले कविताको सङ्ख्या बढेको  देखिए पनि  कवितालाई एक–एक गरी  छुट्याउँदा  ६४४ जना कविहरू राष्ट्रिय कविता महोत्सवमा समावेश भएका छन् । 

यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिन्छ । यस पटकबाट प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनौट हुने छ । यसरी छनौटमा परेका उत्कृष्ट १० कविताका  कविलाई जनही १५ हजार रूपियाँ पुरस्कार र प्रमाणपत्र  प्रदान गरिने छ । यस पटकबाट  समावेशी सहभागितामूलक  सिद्धान्तका आधारमा  राष्ट्रिय कविता महोत्सवका लागि  कविता आह्वान गरिनुले  कविहरूको आकर्षण बढेको देखिन्छ।

यसबारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले भन्नुभयो, ‘‘प्रज्ञाप्रतिष्ठानको इतिहासमै पहिलो पटक राष्ट्रिय कविता महोत्सवको परम्परागत ढाँचालाई बदलेर समावेशी र सहभागितामूलक बनाएका छौँ । महोत्सवमा सबै नेपाली भाषा र मातृभाषाका कविताहरूलाई आह्वान गरिएकाले यस पटक विगतभन्दा बढी कविहरूले भाग लिएका छन् । यस पटकको राष्ट्रिय कविता महोत्सव साँच्चिकै राष्ट्रिय र साँच्चिकै महोत्सवको रूपमा सम्पन्न हुन गइरहेको छ। हाम्रो राष्ट्रिय कविता महोत्सवको यस समावेशी ढाँचालाई बहुसङ्ख्यक कविहरूले आत्मसात् गरेर अनुमोदन गरेको कुरा यसले पुष्टि गर्दछ ।’’

यसैगरी, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा  काव्यविभाग प्रमुख बाबा बस्नेतले  ‘राष्ट्रिय कविता महोत्सव समावेशिताको नयाँ रूप र स्वरूपअनुसार हुन गएकाले पनि कविहरूको आकर्षण बढेको हो’ भन्नुभयो ।