• २९ वैशाख २०८२, सोमबार

बेनीमा सुरुभयो पुष्प व्यवसाय

blog

नर्सरीमा फुलेमने फूलसँगै उमेश मल्ल । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, बैशाख २९ गते । बेनीमा पुष्प व्यवसाय सुरु गरिएको छ । बागलुङ नगरपालिका १० भकुण्डे निवासी उमेश मल्लले बेनीको शिक्षा मार्गमा जग्गा भाडामा लिएर पुष्प व्यवसाय थाल्नुभएको हो । 

शिक्षण पेशामा आवद्ध मल्लले करिब १५ लाख रुपियाँ लगानी गरेर फूलको नर्सरी स्थापना गर्नुभएको छ । बेनी बजारवासीहरुको मागलाई ध्यानमा राखेर आफूले शिक्षण पेशासँगै पुष्प व्यवसाय पनि सुरु गरेको बताउनुभयो । शिक्षण पेशालाई बहुआयामिक बनाउनुका साथै आम्दानीका स्रोतहरु बढाउन पुष्प व्यवसाय उत्तम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

बेनी पर्यटकीय नगरी भएकाले यहाँको सुन्दरता बढाउन टेवा पुगोस् भनेर फूलको नर्सरी स्थापना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नर्सरीले बजारको प्राकृतिक सौन्दर्यता बढाउन र होटल व्यवसायको प्रवर्धनमा टेवा गर्ने विश्वास गरेको छु ।’’

मल्लको नर्सरीमा विभिन्न थरीका सिजनल फूलका विरुवाका साथै फलफूलका विरुवा समेत उपलब्ध छन् । दुई महिनाअघि स्थापना गरेको नर्सरीमा उत्पादन भएका विरुवाहरु सहज रुपमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । बजारको मागअनुसार फूल उपलब्ध गराउन मुश्किल परेको उहाँले बताउनुभयो । 

फूलका विरुवा बिक्री गरेर पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न आफूले पुष्प व्यवसाय थालेको उहाँको भनाइ छ । नर्सरीका लागि उहाँले मासिक रुपमा १५ हजार रुपियाँ भुक्तानी गर्नेगरी पाँच वर्षका लागि जग्गा भाडामा लिनुभएको छ । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सोमबार उक्त नर्सरीको उद्घाटन गर्नुहुँदै बजारमा पुष्प व्यवसायको राम्रो सम्भावना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नर्सरी स्थापना भएपछि फूलका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसले बजारको प्राकृतिक सौन्दर्यतालाई बढाउन पनि मद्दत गर्नेछ ।’’