• १३ साउन २०८१, आइतबार

उच्च पाटन तिर लागे चौँरी गाई

blog

उच्च पाटनमा लगिँदै चौँरी । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, जेठ २९ गते । हिमालपारिको गाउँ लिमीबाट चौँरी गाई उच्च पाटनतर्फ लगिएका छन् । पाटनमा जमेको हिउँ पग्लिनु र त्यहाँ घाँस उम्रिन थालेपछि पालनकै लागि चौँरी गाई पाटनमा लगिएका हुन । 

नाम्खा गाउँपालिका –६ को लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले एक महिना अगाडी गाउँबाट लगेर तुम्लिङमा सारिएका चौँरीका गोठ जेठ अन्तिम हप्ताबाट अझै उच्च पाटनमा सारिएको बताउनुभयो । उहाँले उच्च पाटनमा जमेको हिउँ पग्लिनु, चरनको लागि सहज, होचा स्थानमा गर्मी बढ्दै गएको कारण चौँरीलाई पाटनतर्फ सारिएको बताउनुभयो । चिसो केही भए पनि चौँरीले त्यसलाई सहन सक्ने बताउँदै उहाँले चौँरीका लागि उच्च पाटन नै चरनका लागि उपयुक्त भएको बताउनुभयो । 

ती उच्च पाटनमा केही हिउँ समेत जमेको भए पनि विगतमा जस्तै चौँरीलाई लिने समय भएपछि पशु पालक किसानले चौँरीलाई उच्च पाटनतर्फ लग्नु भएको हो । हाल लिमीको चौँरी श्रोत केन्द्रमा दुई सय भन्दा बढी चौँरी रहेका छन् भने स्थानीयसँग डेढ सयसम्म चौँरी रहेका छन् । ती सबै चौँरी खर्कमा लगिएपछि गाउँका गोठहरू रित्तिएका छन् । एक महिना अगाडी लिमीको गाउँबाट पालनका लगिएको चौँरी गाई अब कात्तिक अन्तिम हप्ता मात्र लिमी फर्कनेछन् । 

खर्कमा गोठालाहरूले छुर्पी, घ्यू, चीज, नौनी लगायतका परिकार उत्पादन समेत गर्नु हुनेछ ।