• ४ पुस २०८२, शुक्रबार

ओलम्पिक र एसियन गेम्सको तयारी तीव्र, १४ खेलाडीलाई एनओसी छात्रवृत्ति

blog

काठमाडौं, पुस ४ गते । आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न खेलका १४ जना खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो । एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका खेलाडीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ ।

एनओसीका अनुसार लस एञ्जलस ओलम्पिकको तयारीका लागि आठ जना, आइची–नागोया एसियन गेम्सका लागि पाँच जना तथा युथ गेम्सका लागि उसुकी रश्मि घिसिङलाई छात्रवृत्ति प्रदान गरिएको छ । एनओसीले छात्रवृत्ति प्रदान गरेको खेलमध्ये टेबल टेनिस, टेनिस, पौडी र साइक्लिङमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी समानान्तर दुई संघ रहेका छन् । विवादमा परेका खेल संघहरूमै एनओसीको छात्रवृत्ति प्राथमिकतामा परेको देखिएको छ ।

एनओसीले शुक्रबार भएको कार्यक्रममा खेलाडी, तिनका परिवार तथा सम्बन्धित संघसँग सम्झौता गरेको हो । लस एञ्जलस ओलम्पिकका लागि ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोर्ट्स क्लाइम्बिङकी तेन्जिङ राई तथा पौडीका एर्भिन श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

यी खेलाडीले सम्बन्धित संघमार्फत हरेक चौमासिक रूपमा अमेरिकी डलर १ हजार १ सय २५ प्राप्त गर्नेछन् । आगामी एसियन गेम्सका लागि आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छनोट भएका छन् ।

एसियन गेम्स र युथ ओलम्पिकका खेलाडीले मासिक ५० हजार रुपैयाँ छात्रवृत्ति पाउने नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले जानकारी दिनुभयो ।