• १३ साउन २०८१, आइतबार

खानेपानीबाट धानको बीउ राख्दै किसान

blog

बाँकेको खजुरा –४ ईगाउँमा खानेपानीबाट धानको बीउ राख्दै किसान । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, जेठ २८ गते । बाँकेमा जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । सिँचाइ सुविधा नभएको स्थानमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ । 

खजुरा –४ ईगाउँस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उज्ज्वल बिसीले अधिकांश उपभोक्ताले धानको बीउ राख्नका लागि खानेपानीको प्रयोग गरेको बताउनुभयो । 

बिसीले भन्नुभयो, ‘धान रोपाई गर्नुपर्ने समयमा धानको बीउ राख्न नपाएपछि किसानले खानेपानी मार्फत वितरण हुने पानी खेतमा सिँचाइ गरी धानको बीउ राखेका छन् ।’ यस पटक ह्याण्डपम्प समेत सुक्न थालेपछि किसानहरूले मोटरको साटो खानेपानीबाट वितरण हुने पानी खेतीका लागि प्रयोग गरेका छन् । 

बाँकेको, खजुरा, जानकी, बैजनाथलगायतका स्थानमा किसानहरूले मोटर र खोनपानी मार्फत बिउँ राखेका छन् । यसरी बीउ राखे पनि लामो समयसम्म बर्सात नभएका कारण बीउ जोगाउन मुस्किल परेको किसानहरूले जनाएका छन् । कतिपय किसानहरू बर्सात हुनासाथ रोपाइ गर्ने तयारीमा छन् । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले जिल्लामा हालसम्म धान रोपाई सुरु नभएको जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भन्नुभयो, ‘हाल किसानहरू धानको बिउँ राखिरहनुभएको छ । अबको १०–१५ दिनमा धान रोपाई सुरु हुन्छ ।’ बाँकेमा ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको छ ।