• १३ असोज २०८१, आइतबार

देश र जनताको पक्षमा सरकारले काम गर्न सकेन : नेता ज्ञवाली

blog

एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको कार्यक्रममा उपमहासचिव प्रदिप ज्ञवाली

गोरखापत्र अनलाइन

धनकुटा, जेठ २७ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा नागरिकमा दलप्रति नै निराशा आएको बताउनुभएको छ । एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

एमाले नेतृत्वमा यसअघि बनेको जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशलाई गलत दिशामा लगेको उहाँले आरोप लगाउनुभयो । संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै मुलुक गलत दिशामा गएको उहाँको भनाइ छ । 

वर्तमान गठबन्धन सरकारको असक्षमताले देश आर्थिक संकटमा फँसेको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौंका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द भएका छन्, नागरिकहरू आर्थिक मन्दीले निरास हुँदैगएका छन्, त्यसप्रति सरकारले ध्यान दिन सकेको छैन ।”

गठबन्धन सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानूनी साँठगाँठ र बजेट निर्माणमा मनपरी गरेको उहाँले टिप्पणी गर्नुभयो । कोशी प्रदेशको नामकरणका विषयमा सरकारमै रहेका दलहरूकै नेता कार्यकर्ताको संलग्नतामा एमाले नेताहरूमाथि आक्रमण भइरहेको उहाँले दावी गर्नुभयो । 

पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा आइतवारसम्म चल्ने प्रशिक्षणमा नेता ज्ञवालीसहित एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने, गुरु बराल लगायत नेताहरूले प्रशिक्षण दिने एमाले धनकुटाका स्कुल विभाग प्रमुख मनोज राईले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा एमाले धनकुटा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र जनवर्गीय सङ्गठनका प्रमुखहरूको सहभागिता छ ।