• १३ असोज २०८१, आइतबार

शिक्षा मेरुदण्ड हो, मजबुत पार्नुपर्छ : राज्यमन्त्री यादव

blog

इनरुवामा जसपाले आयोजना गरेको नगरभेलामा राज्यमन्त्री प्रमिलाकुमारी यादव । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, जेठ २७ गते । शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादवले बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको उहाँको भनाइ छ । राज्यमन्त्री यादवले आफू जसपाको केन्द्रीय राजनीतिक सदस्य समेत रहेकाले सबै विपन्न, पछाडि परेकाहरुको शिक्षाको पहुँच बनाउने पक्षमा रहेको बताउनुभयो । 

आफू पूर्व शिक्षक समेत रहेको स्मरण गर्दै उहाँले शिक्षालाई राम्रो दृष्टिकोणले हेर्दैआएको  बताउनुभयो । शिक्षामा बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालयको कर्मचारी तथा राहत शिक्षकको समस्या सम्बोधनमा पहल र प्रयास गर्ने बताउनुभयो । संघीय शिक्षा ऐन ल्याउन पहल भएको पनि उहाँले बताउनुभयो । 

शिक्षा क्षेत्रमा देखिएको असमान व्यवहार, विद्यालय कर्मचारी तथा राहत शिक्षकको समस्या समाधानमा आफूले पहल गर्ने उहाँको भनाइ छ । राज्यमन्त्री यादवले जनता समाजवादी पार्टी नेपालको योजना र एजेण्डालाई कार्यान्वयनको जरुरी रहेको चर्चा गर्नुभयो ।्

कार्यक्रम जनता समाजवादी पार्टी नेपालको इनरुवा नगरपालिका समिति उपाध्यक्ष गोपाल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सत्यनारायण मेहता, पार्टीको सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे, जिल्ला सचिव सूर्यनारायण यादव लगायतको सहभागिता थियो ।