• १३ साउन २०८१, आइतबार

‘खजुराको बृहत् इतिहास’ पुस्तक लोकार्पित

blog

‘खजुराको बृहत्त इतिहास’ पुस्तकको लोकार्पण गर्दै अतिथिहरु । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, जेठ २७ गते । बाँकेको खजुरा गाउँपालिकामा स्थानीय सरकारद्वारा गठन गरिएको खजुरा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘खजुराको बृहत् इतिहास’ नामक पुस्तकको लोकार्पण गरिएको छ । 

खजुरामा आयोजित एक कार्यक्रमबीच खजुरा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक, प्रतिष्ठानका सहकुलपति तथा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल र वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटरले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गर्नुभयो । 

पुस्तकमाथि लेखक ऋषिराम सापकोटाले टिप्पणी गर्नुभयो भने सुन्दर गुरुङले पुस्तकबारे धारणा राख्नुभयो । सो अवसरमा बोल्दै प्रतिष्ठानका कुलपति विकले खजुराको भाषा, साहित्य, संस्कृति र कलालाई समेटेर प्रतिष्ठानद्वारा तयार पारिएको सो पुस्तकले पालिकाको इतिहास प्रष्ट झल्काएको बताउनुभयो । 

पालिकाको सम्पत्ति र भोलिका पुस्ताका लागि आवश्यक सामग्री भएको जनाउँदै पुस्तक प्रकाशनमा सक्रिय भएर लाग्नु भएका सबैप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सहकुलपति मञ्जु मल्ल, उपकुलपति डा. इन्द्र भण्डारी, प्रतिष्ठानका सदस्य मणिदेव अर्याल र कल्पना पौडेल, लेखक नरेन्द्रजंग पिटर, पालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, वडा अध्यक्षहरूको तर्फबाट अध्यक्ष धनिराम ओली लगायतले खजुराको भाषा, साहित्य, संस्कृति र कला बारेमा आफ्नो भनाइ राख्नु भएको थियो । 

सो अवसरमा साहित्यकार बोधराज प्याकुरेल र चरित्रा शाहले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो । 

प्रतिष्ठानले प्रकाशित गरेको ३८२ पृष्ठको सो पुस्तकको सम्पादक डा. इन्द्रबहादुर भण्डारी र सह-सम्पादक मणिदेव अर्याल रहनु भएको छ भने व्यवस्थापनको जिम्मा मणिदेव अर्याललाई दिइएको छ । 

पुस्तकमा खजुराको संक्षिप्त परिचयसहित खजुराको राजनीतिक इतिहास, साहित्यिक इतिहास, शैक्षिक इतिहास, सांस्कृतिक इतिहास, धार्मिक इतिहास, सामाजिक इतिहास लगायत विषयमा खोजमूलक लेखहरू प्रकाशित गरिएको खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणिदेव अर्यालले बताउनुभयो ।